विष्णु पौडेलपछि सुकुम्बासीको लालपुर्जामाथि राजनीति गर्दै छबिलाल विश्वकर्मा
बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बारम्बार सुकुम्बासीलाई लालपुर्जा दिने आस्वासन दिएको भन्दै आक्रोश बढेका बेला एमाले स्थायी समिति सदस्य एवं रुपन्देही-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले पनि अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीलाई जग्गाको मालिक बनाउने मुद्दा बनाएका छन् ।
उनले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीलाई जग्गाको मालिक बनाउँदै लालपुर्जा वितरण गर्ने भन्दै आस्वासन दिएका छन् । आइतबार तिलोत्तमा १२ बर्मेलीटोल र मोहनाजोतमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै एमाले नेता विश्वकर्माले यस्तो आस्वासन बाँडेका थिए ।
अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीहरू यस्ता आस्वासन पाएर आजित बनेका बेला उनले केपी ओली नेतृत्वको एमाले सरकारले सबै प्रक्रिया पूरा गरेर जग्गा नापजाँच गर्ने बेला सरकार ढलेको आरोप समेत लगाएका छन् ।
साढे तीन वर्ष सत्तामा रहेको एमालेले लालपुर्जाका नाममा राजनीति गरिरहेको बेला उनले गठबन्धनले भूमि आयोग नै खारेज गरेर लालपुर्जाबाट बञ्चित गरेको आरोप समेत लगाए । त्यतिमात्र होइन नेता विश्वकर्माले गठबन्धन सरकारले २ सय गुणा बढी राजस्व कायम गरेर अव्यवस्थित बसोबासीलाई लालपुर्जा लिनै नसक्ने बनाएको आरोप समेत लगाए ।
यसरी नै विभिन्न बहानामा सुकुम्बासीको लालपुर्जा दिने भन्दै विष्णु पौडेलले पनि पटकपटक आस्वासन बाँडेका थिए । आस्वासन दिएर भोट माग्ने पछि काम नै नगरेको भन्दै स्थानीय आक्रोशित भएको बेला विश्वकर्माले पनि सुकुम्बासीकै कमजोरीमा खेल्न खोजेको आरोप लागेको छ ।
रुपन्देहीमा निर्णायक मत भएका सुकुम्बासीहरूलाई दलहरूले यसरी नै प्रयोग गर्दै आइरहेका छन् । नेताहरूकै कारण उनीहरूको समस्या निकै जटिल बनिरहेको छ ।
विश्वकर्माले यी सबै हद पार गर्दै जनतालाई जग्गाको मालिक बनाउन एमालेको सरकार चाहिने समेत बताए ।