केपी ओलीसँग थोरै पनि नैतिकता छैन : घनश्याम भुसाल - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

केपी ओलीसँग थोरै पनि नैतिकता छैन : घनश्याम भुसाल



काठमाडौँ- नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो ।

आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे ।

सत्तारूढ गठबन्धनको साथ लिएर रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे ।

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए । त्यस क्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुस्साहस गरेको जिकिर समेत गरे ।