फेसबुकमा राख्न ओलीले मागे सर्वसाधारणको फोटो
काठमाडौं- चुनाव नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताको मन जित्न अनेक उपाय लगाउन थालेका छन् ।
ओलीले निर्वाचनका कार्यक्रमदेखि सामाजिक सञ्जालमा थप सक्रियता बढाएका छन् ।
एमालेले ओलीलाई भावी प्रधामन्त्रीका रूपमा अगाडि सारेको छ । प्रधानमन्त्री बन्ने दौडमा रहेका ओली चुनौतीको पहाडमा छन् ।
४ कात्तिकमा आफ्नो फेसबुक पेजमा फोन नम्बर पठाउनेहरुसँग ओलीले कुरा गरेका थिए । कुरा गरेकामध्ये केहीसँग सम्वाद सार्वजनिक गरे ।
टेलिफोन सम्वादपछि ओली तस्वीर माग्दै फेसबुक पेजमा पोष्ट गर्नतिर लागेका छन् । ‘..थाहै नपाइ कति धेरै साथीहरुसँग यस्ता सेल्फी खिचिएका होलान् ! साथीहरुले मसँग खिचेका तस्वीरहरु फेसबुकको कमेन्ट बक्समा पठाउनु भयो भने म समय मिलाएर हेर्नेछु’, केही तस्वीरसहित ओलीले शनिबार फेसबुकमा लेखेका छन् ।
५ कात्तिक बिहान आफ्नै निवास बालकोटबाट देखिएको सूर्योदयको दृश्य राखेर ओलीले तस्वीर माग्न थालेका हुन् । ओलीले आफ्नो फेसबुकको म्यासेज बक्समा तस्वीर पठाउन आग्रह गर्दै आएका छन् ।
फेसबुक पेज हेर्दा ओलीको रोजाइमा विभिन्न स्थानबाट देखिने सूर्योदयको दृश्य रहेको देखिन्छ । उनले सूर्योदय, केही धार्मिक तथा पर्यटकीय क्षेत्रको तस्वीर आफ्नो पेजमा पोष्ट गरेका छन् । तस्वीर पोष्ट गर्दा स्रोतसमेत खुलाएका छन् ।