समृद्ध देश बनाउन र थिति बसाल्न मलाई निकै हतार छ
-डा. निकोलस भुसाल (कमल)
म चिकित्सा क्षेत्रमा लागेको व्यक्ति हुँ तर पछिल्लो समय देशलाई निको पार्ने चिकित्सकको आवश्यकता महसुस भएकाले राजनीति र सेवामा होमिएको युवा हूँ।
हाम्रो लागि न्यायको मन्दिर हो सर्वोच्च अदालत । यो एउटा अदालत मात्र होइन, जनताको अन्तिम आशा र भरोसा पनि हो । संविधानको पनि अन्तिम व्याख्या गर्ने यो मन्दिरबाट न्याय नपाइने भन्ने किरा छैन । हामी पनि अहिले त्यही न्यायको मन्दिरबाट आउने अन्तिम फैसलाको पर्खाईमा छौँ। १५ गते हुने उक्त फैसला जनताको पक्षमा पक्कै हुनेछ ।
सर्वोच्चबाट आउने फैसला फैसला मात्रै होइन, कालान्तरसम्म बन्ने एउटा नजिर पनि हुन्छ । छात्रवृत्ति लिएर पढिरहेको विद्यार्थीले राजनीति गर्न वा चुनाव लड्न नपाउने नजिर बन्छ जस्तो मलाई लाग्दैन ।
‘न्याय नपाए गोर्खा जानु’ भन्ने कथन त्यसै बनेको होइन गोर्खा हाम्रो देश नेपालको उपनाम जस्तै हो । जनताले रगत बगाएर ल्याएको लोकतन्त्र, गणतन्त्रमा प्रतिस्पर्धा नै गर्न नपाउने, निर्वाचन लड्न नपाउने भन्ने पक्कै नहोला । राजनीतिक रुपमा थालिएको यो मुलुकमा एउटा नयाँ आशा बोकेर राजनीति र देशलाई नै सफा गर्छु भन्दै आफ्ना व्यक्तिगत सपना त्यागेर होमिएको युवा हूँ म ।
मैले देशका लागि सपना देख्न थालेदेखि विभिन्न अभियान लिएर देशका धेरैजसो स्थानमा पुगेर सेवा गरेको छु । देश बनाउन पवित्र मन लिएर परिवर्तन गर्ने हुटहुटी बोकेर राजनीतिमा होमिएको छु । युवाहरू देशमै केही गर्न सक्लान् भनेर योजना बनाएको छु । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता जनताका लागि निशुल्क कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेको छु । ऋणले डुबेको हाम्रो देशलाई कसरी ऋणमुक्त गर्न सकिन्छ भन्ने योजना बनाएको छु ।
देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर विज्ञहरूसँग परामर्श गरिरहेको छु । राज्यलाई कर तिर्ने उद्योगी व्यवसायीहरू नै राज्यबाट पिल्सिएको देखेर उनीहरूलाई कसरी संरक्षण गर्न सकिन्छ, उनीहरूलाई कसरी समृद्धिसँग जोड्न सकिन्छ र व्यावसायिक सुरक्षा दिन सकिन्छ भनेर अध्ययन गरेको छु ।
सम्भावना नै सम्भावनाको खानी हो हाम्रो देश, यहाँ सही तरिकाले सही काम गर्ने हो भने कायापलट गर्न धेरै समय पनि लाग्दैन । समृद्धि कुनै जादू होइन, सही व्यक्ति, सही काम, सही योजना हुनेहो र सुशासन कायम गर्ने हो भने समृद्धिको यात्रा टाढा पनि छैन ।
सुरक्षित महसुस गर्ने विश्वस्तरीय सेवा र आतिथ्य सत्कार हुनेहो भने विश्वका हरेक व्यक्तिलाई नेपाल घुमाउन सकिन्छ । पानी मात्रै बेचेर देशको ऋण तिर्न सकिन्छ । रुग्ण उद्योगलाई प्राइभेट पार्टनरसीपमा राज्यले सञ्चान गर्न सके मात्रै पनि आधा बेरोजगारी हट्छ । यस्ता कैयौँ सम्भावना छन्, यस्ता कैयौँ योजना छन् हामीसँग ।
मलाई त कुनै हतार छैन, तर देशलाई हतार छ, युवालाई हतार छ, देशमा लगानी गर्नेहरू र गर्न चाहनेहरूलाई हतार छ, पीडामा पिल्सिएको व्यापारीहरुलाई हतार छ। विदेशिएका युवाहरूलाई देश फर्कन हतार छ यो देशमा काम गर्न । यो देशमा समृद्धि ल्याउन र थिति बसाल्न ।
त्यसैले आशा बोकेर, भरोसा लिएर र विश्वास राखेर कुरेका छौँ। सर्वोच्चबाट आउने फैसलाले देश हाँस्नेछ । युवामा राजनीतिप्रति आशा जगाउनेछ । यो देशमा केही हुन्न, केही गर्न सकिन्न भन्ने निराशालाई परिवर्तन गर्नेछ ।
धन्यवाद ।