प्रचण्डलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न माग गर्दै निवेदन दर्ता - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

प्रचण्डलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न माग गर्दै निवेदन दर्ता



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल गिरफ्तार गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ। आयोगमा उक्त निवेदन कात्तिक ८ गते नै दर्ता भएको बताइएको छ ।

माओवादी द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरण (रामेछाप) र पूर्णप्रसाद पौडेल (सुर्खेत)ले मानव अधिकार आयोगमा निवेदन दिएको खुलेको छ। आयोगका एक अधिकारीले निवेदन दर्ता भइसकेको जानकारी दिए।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा दाहालले लिनुपर्ने निवेदनमा उल्लेख छ।

त्यतिमात्र होइन पाँच हजार मान्छे मारेको हुँ भन्दा भन्दै दाहालमाथि कानूनी कारवाही नहुनु विडम्बना भएको निवेदकहरूको धारणा छ।

निवेदनमा भनिएको छ, “२०७६ माग १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा राजधानीको खुलामञ्चमा आयोजित थारूहरूको माघी पर्वको कायक्रममा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार व्यक्ति हत्या स्वीकार गरेकोले निजलाई तत्काल गिरफ्तार गराउन आवश्यक अनुसन्धान एवम कानून बमोजिम कारबाही गरी पाऊँनका लागि आवश्यक पहल गरी दिनु हुन” निवेदनमा भनिएको छ, “साथै द्वन्द्व को नाममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसा मा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका,विस्थापित लगायतका पीडितको जिम्मा पनि प्रचण्डले नैं लिनु पर्छ यतातर्फ यस आयोगले आवश्यक पहल गरोस् भन्ने हाम्रो अनुरोध छ।”

२०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष दाहालले आफूले पाँच हजार मान्छे मारेको जिम्मा लिने बताएका थिए।