धनेन्द्र कार्की- कांग्रेसका खम्बा, जनताका नेता - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

धनेन्द्र कार्की- कांग्रेसका खम्बा, जनताका नेता



गुल्मीमा पनि निर्वाचनको माहोल तातेको छ । दुई चुनावी क्षेत्र भएको गुल्मीमा प्रतिनिधि सभाका उम्मेदवारबीच हुने भिडन्त जति रोचक देखिन्छ प्रदेश सभामा पनि त्यति नै रोचक माहोल छ । प्रदेश सभा अन्तर्गत भिडेका उम्मेदवार पनि उत्तिकै चर्चित छन् । त्यसमध्य एक हुन् कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की । गुल्मी क्षेत्र नम्बर १ ‘ख’ बाट उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।

गुल्मी क्षेत्र नम्बर १ बाट कांग्रेस नेता चन्द्र भण्डारी प्रतिनिधि सभाका उम्मेदवार हुन् । निर्वाचनमा भण्डारीको एउटा पिल्लर बनेर खटिएका कार्की सफल व्यवसायी समेत हुन् ।

स्थानीय राजनीतिमा निकै राम्रो योगदान गरेका, समाजसेवामा निकै रुची राख्ने, कसैको दुख देख्न नसक्ने कार्की बाटोमा भेटिँदा पनि गाडी रोकेर सन्चो बिसन्चो सोध्छन् । व्यवसायमा सफल भएपनि आफ्नो धरातल नबिर्सेका कार्की अहिले प्रदेशसभामा प्रतिस्पर्धामा छन् ।

कार्की गुल्मी चारपालाका स्थानीयबासी हुन् । उनले स्थानीय तहमा भएका विकाशका आयोजनामा निकै राम्रो पहल गरेका थिए । धनेन्द्र निर्वाचनमा होमिएपछि कांग्रेस मात्रै होइन अन्य दलका नेता कार्यकर्ता पनि उनलाई जिताउन लागिपरेका छन् । केन्द्रीय राजनीतिमा समेत दखल राख्ने कार्कीलाई निर्वाचन जिताएर आफ्नै जनप्रतिनिधि बनाउन स्थानीय आतुर छन् ।

‘जनताका हरेक समस्या र दुखमा सँगै रहने यत्तिको व्यक्ति हाम्रो जनप्रतिनिधि बनेको हेर्ने रहर छ, उहाँ जित्नैपर्ने नेता हो, स्थानीय नवराज पन्थी भन्छन् । पन्थीका अनुसार अहिलेको समयमा कार्की उदाहरणीय नेता हुन् । सफल व्यवसायी भैसकेको व्यक्तिले चुनाव जितेपछि पैसाकै लागि अनियमितता नगर्ने पन्थीको दाबी छ । ‘नेतृत्व र क्षमताका आधारमा उहाँ अब्बल पात्र हो,’ उनले भने ।

इन्जिनियर अर्जुन महतराका अनुसार स्थानीय विकाशमा धनेन्द्र कार्कीको निकै योगदान छ । ‘मैले लामो समयदेखि संगत गरेको छु, उहाँ अहिलेसम्म कुनैपनि लाभको पदमा बस्नुभएको छैन तर सधै जनताको बिचमा र जनाताको दुखमा सँगै हुनुहुन्छ । खानेपानीको लिफ्टिंङ आयोजनादेखि मोटरबाटोका लागि उहाँले निकै पहल गर्नुभएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहसम्म उहाँ निकै लड्नुभएको छ ।’ अर्जुन भन्छन् ।

गत चुनावमा पनि निर्वाचन लडेका कार्की बाम गठबन्धनका उम्मेदवारसँग झिनो मतले पराजित बनेका थिए । यसपटक भने उनको जित सुनिश्चित भएको अर्जुन बताउँछन् ।

‘निर्वाचन जित्दामात्रै होइन, नजित्दा पनि जनताकै माझमा छु, चुनाव हारेपनि पाँच वर्ष जनताकै काम गरेको छु । सबैजसो मतदाता मलाई जिताउन आतुर हुनुहुन्छ’ धनेन्द्र भन्छन् । उनका प्रतिस्पर्धी एमालेका फर्सुराम पाण्डे हुन् । पाण्डे नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य चिन्तामणि पाण्डे प्रतिस्पर्धी छन् । प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे प्रतिस्पर्धी हुन् ।

यता, प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल प्रतिस्पर्धी छन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थी प्रतिस्पर्धी हुन् ।