सांसदको पत्तो छैन, संसदीय दलको नेता चुन्दै रवी लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अगाडी नै संसदीय दलको नेताको निर्वाचन गर्ने भएको छ।
रवि लामिछाने सभापति रहेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता चयन गर्न लागेको हो।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएको छैन। स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा चुनावका लागि भने प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवारहरू छन्।
अन्य पार्टीमा चुनाव भएपछि निर्वाचित सांसदमध्येबाट संसदीय दलको नेता चयन गर्ने गरिन्छ। तर स्वतन्त्र पार्टीको विधानमा भने चुनावअघि नै संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ।
उक्त व्यवस्थाअनुसार पार्टीका महामन्त्री मुकुल ढकालले शनिबार आन्तरिक सर्कुलर गर्दै संसदीय दलको नेता उठ्न चाहनेलाई लिखित निवेदन दिन भनेका छन्।
संसदीय दलको नेता उठ्न प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारले पाउने व्यवस्था विधानको धारा ७२ को १ मा उल्लेख छ। पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्न पाउँछन्।
संसदीय दलको नेता उठ्न इच्छुकले सोमबार (कात्तिक ७ गते) अपरान्ह ५ बजेभित्र [email protected] मा लिखित निवेदन पठाउनुपर्ने हुन्छ।
निर्वाचन कहिले गर्ने भन्ने टुंगिएको छैन। चुनावमा संसदीय दलको नेता चयन हुनका लागि खसेको कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच चुनाव गरेर धेरै मत ल्याउने व्यक्ति नै संसदीय दलको नेता हुने विधानको व्यवस्था छ।
संसदीय दलको नेता चयन भएका व्यक्ति आमचुनावमा पराजित भएमा ऊ संसदीय दलको नेता बन्न भने पाउँदैन। प्रतिनिधि सभा सांसद भएकामध्येबाट पछि पुन: संसदीय दलको नेता चयन गरिन्छ। संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अवसर प्राप्त भएमा प्रधानमन्त्री हुने विधानमा उल्लेख छ।