अर्घाखाँचीमा एमालेकै नेता भन्छन्- 'टोपबहादुरका झुठा बाचाले समस्या भयो' - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

अर्घाखाँचीमा एमालेकै नेता भन्छन्- ‘टोपबहादुरका झुठा बाचाले समस्या भयो’



अर्घाखाँची- अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुँदैछ ।

राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्न सक्ने भुसाल र रायमाझी बीचको प्रतिस्पर्धा निकै रोचक हुने आंकलन गरिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र भएको अर्घाखाँचीमा जनता समाजवादी पार्टी नेपालबाट नेत्र बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होम नारायण वेल्वासे, नेपाल मजदुर किसान पार्टीबाट सुतेज दुवाल, हाम्रो नेपाली पार्टीबाट दुर्गा वन्जाडे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट खलिल मियाँ, मंगोल नेशनल अर्गनाइजेसनबाट पूर्ण बहादूर थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट मधुबहादुर सारु, जन समाजवादी पार्टी नेपालबाट पीताम्बर अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी प्रसाद भुसाल उम्मेदवार छन् ।

२०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकोतर्फबाट निर्वाचित रायमाझी र कांग्रेसबाट समानुपातिक सांसद बनेकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा छन् । गतको स्थानीय तहको निर्वाचनमा गठबन्धन करिब ५ हजार ५ सय मतले अगाडि भएपनि निर्वाचन निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

२०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ बाट जितेकी भुसाल यसपाली अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

२०७४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेकी भुसालले राजनीतिक पार्टीको भूमिकामा परिवर्तन हुने खालको रूपान्तरण र हरेक समुदायको नेतृत्वमा जोड दिएमा मात्र विकास र सम्वृद्धि ल्याउन सकिने बताएकी छन् । ३ पटकसम्म प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रबाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट निर्वाचित भएका थिए । अहिले नेकपा एमालेमा रहेका रायमाझीले पुराना अधुरा काम पूरा गर्न र विभिन्न विकासका एजेण्डाका साथ उम्मेदवारी दिएको बताएका छन् ।

नेतृत्वको हिसाबले भुसाल उपसभामुख बनिसकेकी छन् भने रायमाझी उपप्रधानमन्त्री समेत बनिसकेका नेता हुन् । तर रायमाझीका लागि अहिलेको निर्वाचन सहज नभएको स्थानीय बताउँछन् । एकातिर गठबन्धन र अर्कातिर एमालेभित्रकै अन्तर्द्वन्द्वका कारण रायमाझीका लागि असहज बन्दै गएको नेताहरूले बताएका छन् ।

यसअघि पटकपटक जितेका रायमाझीले जिल्लामा गरेका धेरै बाचाका कारण पनि समस्या भैरहेको एमालेकै एक नेताले बताए । उनले भने, ‘जहाँ जाँदा पनि घोषणा गरिहाल्ने तर काम नगर्ने बानीका कारण हामीलाई चुनावी अभियानमै समस्या भएको छ, अहिले त्यसैको जवाफ दिँदा दिँदा हामी हैरान भएका छौँ ।’

रायमाझीले यसअघि खेल मैदान, पर्यटकीय क्षेत्र, रंगशाला लगायतका विषयमा गरेका भाषण अहिले भाइरल भैरहेका छन् ।