काठमाडौंमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

काठमाडौंमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने



काठमाडौं– काठमाडौं प्रहरीले रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले विज्ञप्ति निकालेर आफ्नो चिनजान भएको ठाउँमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो ।

परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले तिहारमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ ।

जाँडरक्सी खाएर गाडी नचलाउन, सार्वजनिक ठाउँमा जाँडरक्सी र चुरोट नखान, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

यस्तै छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबाया जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीको अनुरोध छ ।

यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन तथा गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।