ऐन महरलाई आयोगको २४ घण्टे अल्टिमेटम, होला त कारबाही ? - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

ऐन महरलाई आयोगको २४ घण्टे अल्टिमेटम, होला त कारबाही ?



काठमाडौं – निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार ४१ हजार रुपैयाँ प्रदान गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले महरलाई पठाएको पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ कुरा स्मरण गराएको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब सामाजिक संसथा, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन वा बुथ खर्च दिन वा घोषणा गर्न नहुने’ व्यवस्था छ ।

‘उल्लेखित कानूनी व्यवस्था अनुसार तपाईंबाट भएको भनिएको पुरस्कार स्वरुप नगद वितरण गर्ने कार्य निर्वाचन आचारसंहिता प्रतिकूल देखिन्छ,’ आयोगको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
आयोगको पत्रमा भनिएको छ, ‘तपाईंबाट पुरस्कार स्वरुप नगद वितरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’

आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घन्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न महरलाई भनेको छ ।