विपक्षीलाई 'गोली ठोक्ने र छुरा रोप्ने' एमाले नेतृ भगवती चौधरीको धम्की - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

विपक्षीलाई ‘गोली ठोक्ने र छुरा रोप्ने’ एमाले नेतृ भगवती चौधरीको धम्की



इटहरी- नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उमेदवार भगवति चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उमेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १४ मा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विपक्षीले धाँधली र दुश्प्रयास गरे पहिलो फायरिङ आफूले खोल्ने बताइन् ।

“मर्ता क्या नहि कर्ता, अन्तिम अवस्थामा त्यस्तो चुनौती आयो भने म उमेदवार हुँ, म भन्छु त्यस्तो अवस्थामा पहिलो फायरिङ मैले नै गर्छु,” चौधरीले भनिन्, “छुरा खोप्नु पर्ने होकी के गर्ने हो, मै गर्छु ।”

उनले हरेक गाउँमा कहाँ गड्बड हुन्छ त्यहाँ धारिलो छुरा जसरी कार्यकर्ताहरुलाई ओराल्ने बताइन् । यसअघिका निर्वाचनमा धाँधली गरी आफूलाई हराएको आरोप लगाउँदै आएकी चौधरीले यसपटक त्यसको बदला लिने चेतावनी पनि दिएकी छन् ।

विपक्षीलाई चेतावनी दिएको चौधरीको भिडयो सामाजिक सञ्जालमा आएको छ । भिडियोको अन्तिममा उनले भनेकी छन्, “जनताको अभिमतलाई सुरक्षित रुपले परिणाम निकाल्न नदिने त्यस्तो काम गरियो भने त्यसको जवाफ दिन हामी तयार छौँ, भोलि पर्सि हुन्छ भने पनि, गोली नै ठोक्नु पर्यो भने, छुरा नै हान्नु पर्यो भने भगवती चौधरी तयार छु ।”

चौधरीले निर्वाचन आचारसंहिताविरुद्ध यस्तो हिंसात्मक अभिव्यक्ति दिएकी हुन् । चौधरीले दिएको अभिव्यक्ति आफूले पनि हेरेको सनुसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यो विषयमा मुख्य निर्वाचन अधिकृतसँग कसरी अगाडि जाने भन्ने विषयमा छलफल भइरहेको बताए ।

“यसमा हामीले सिधै केही गर्ने अवस्था हुँदैन । मुख्य निर्वाचन अधिकृतको निर्देशन अनुसार काम अगाडि बढाउनेछौँ,” प्रजिअ यादवले भने ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पनि सो विषयमा जानकारी आएको बताएका छन् । आफूले भिडियो नहेरे पनि जानकारी आएको उनले बताए ।

३ नम्बर क्षेत्रका निर्वाचन अधिकृतलाई छलफलका लागि बोलाएको बताउँदै मुख्य निर्वाचन अधिकृत अधिकारीले भने, “भिडियो हेरेपछि के गर्ने हामी निर्णय गछौँ ।”

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग भगवती चौधरी दुईपटक पराजित भइसकेकी छन् । गएको भदौ १८ गते कार्यकर्ता प्रवेश गराउन सुनसरी आएका एमाले अध्यक्ष केपी ओलीले यसपटकको चुनावमा पनि गठबन्धनले धाँधली गर्न सक्ने जिकिर गरेका थिए ।