रामकुमारी झाँक्री- बरू माफी मागिन्, चर्चाकै लागि कुनै ‘स्टन्ट’ गरिनन्
काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सर्वाधिक चर्चित मध्यको एउटा क्षेत्र हो गुल्मी क्षेत्र नं. २ । नेकपा एमालेका सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच हुने यो प्रतिस्पर्धा निकै रोचक पनि छ । यसअघिका निर्वाचनमा झोला बोकेर विष्टलाई जिताउन हिँड्ने झाँक्री आफ्नै झोला बोकेर चुनावमा होमिएकी छन् ।
जित्नैपर्ने बाध्यतासहित चुनावमा होमिएकी झाँक्रीसँग चुनावी मैदानमा खटिएका थुप्रै अनुभव छन् । फरक यत्तिमात्र छ यसअघि उनी विष्टको लागि भोट माग्दै हिडेकी थिइन्, अहिले भने विष्टलाई नै पराजित गर्नुपर्ने छ । यसपटक कुनैपनि सर्तमा विष्टको ह्याट्रिक रोक्न सके उनको राजनीतिक भविष्यमा पनि ह्याट्रिक हुनेछ ।
यहाँ बाध्यता त दुवै नेताका छन्, एकातिर पार्टी विभाजन र व्मालेको विद्रोहको जवाफ दिन झाँक्रीको जित जरूरी छ अर्कातिर एमालेभित्र थिचोमिचोमा परेकाहरूको जवाफ दिन र आफ्नै भविष्य जोगाउन पनि विष्टलाई जित निकाल्नुपर्ने बाध्यता छ । यसअघि माओवादीको समेत साथ् पाएका विष्टले अहिले माओवादीसँगै आफ्नो सहकर्मी समेत गुमाएका छन् ।
पाँच दलीय गठबन्धनको साथ पाएकी झाँक्री र पूर्वसहकर्मी गुमाएका विष्टबीच अर्को अनौठो संयोग के छ भने दुवै उम्मेदवार आफ्ना पार्टीका सचिव हुन् । नेकपा एमाले सचिव विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्री हुन् ।
त्यतिमात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई-दुई पटक संसद विघटन गर्दा यी दुवै नेता ओली विरोधी मोर्चामा थिए । ओलीले गरेका स्वेच्छाचारी र संविधान विरोधी निर्णयका विरुद्ध हुने सभा र रणनीतिमा सँगै रहेका विष्ट र झाँक्री माधव नेपाल समूहका प्रभावशाली नेताहरू थिए । कैयौँ पटक एमालेभित्र ओलीका गलत कदम विरुद्धको मोर्चामा खटिएका झाँक्री र विष्टबीच अहिले पार्टीगत मात्रै होइन वैचारिक मतभिन्नता छ ।
ओलीविरुद्धको विद्रोहले चरम रुप लिँदा पार्टी नै विभाजित हुने अवस्था सिर्जना भएपछि भने विष्ट माधव नेपालसँग रहन इन्कार गरे । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा हुँदासम्म ओलीको विरुद्धमै रहेका र चर्को विरोधी रहेका विष्ट सुर्य चुनाव चिन्ह छोड्न नसकेर एमालेमै बसे । त्यसपछि उनीलगायत १० भाई नेतामाथि आत्मसमर्पण गरेको आरोप समेत लाग्ने गरेको थियो । पार्टी विभाजन हुनुअघि विष्ट माधव नेपालका अत्यन्त निकटका नेता मानिएका थिए ।
पार्टीबाट पाउने सबै अवसर माधव नेपालकै कोटाबाट लिएका विष्ट पार्टी विभाजन गर्न नहुने लाईनमा थिए । तर समानान्तर रूपमा चलेको दुई पार्टीको अभ्यासमा भने नेपाललाई साथ् दिएका थिए । दुई पार्टीको अभ्यासमा सँगै भएका विष्टलगायतका नेताहरूले माधव नेपाललाई अन्तिम समयमा धोका दिएपछि उक्साएर पार्टी विभाजन गराएको आरोप समेत लाग्यो ।
विष्टले एकाएक माधव नेपालको साथ् छोडेर ओली समूहमा लाग्दा झाँक्री भने कुनै कुराको प्रवाह नगरेर विद्रोह गरेकी थिइन् । झाँक्रीले एमालेबाट विद्रोह गर्दा माधव नेपाल समेत छायाँमा पर्ने माहोल बनेको थियो । उनले माधव नेपालको हात समाएर निर्वाचन आयोगमा डोर्याएको फोटोले उनको विद्रोही छबी झल्काएको थियो ।
झाँक्री विद्यार्थी राजनीतिदेखि नै विद्रोही स्वभावकी नेतृ हुन् । उनले आफ्नी पार्टी र आफ्नै नेताको पनि गलत कुराको विरोध गर्ने क्षमता राख्छिन् । त्यतिमात्र होइन पछिल्लो पुस्ताले रुचाएकी नेतृ समेत भएकाले उनी सधै चर्चाको शिखरमै छन् । मनमा लागेको काम गरिहाल्ने उनको स्वभाव छ । उनले बनाएका टिकटककै कारण पनि उनी चर्चामा हुन्छिन् ।
गठबन्धनको सरकार बनेपछि मन्त्री बनेकी झाँक्रीले चर्चामा आउनकै लागि कुनै ‘स्टन्ट’ गरिनन्, बरु उनले आफूले गर्न नसकेका कामबारे बताइन्, सोचे अनुसार काम गर्न नसकेको भन्दै माफी समेत मागिन् । नौ महिना सरकारमा हुँदा आफ्नो जिल्लाका लागि सकेजति काम गरेको उनको दाबी छ ।
राजनीति निकै निर्मम हुने भएकाले आफ्नै सहकर्मीविरुद्ध लड्दा पनि कुनै फिलिङ नभएको उनले बताउने गरेकी छन् । गुण सम्झिने नै हो भने त गोकर्ण विष्टले अहिले आफूलाई समर्थन गरेर उम्मेद्वारी निष्क्रिय गर्नुपर्ने उनको तर्क छ । गोकर्ण विष्टमा राजनीतिक इमान नभएको उनले बताउने गरेकी छन् । उनले विष्टमा राजनीतिक इमान हुन्थ्यो भने निर्वाचनमा आफूलाई जिताउन झोला बोकेर हिँड्नुपर्ने टिप्पणी समेत उनले गर्छिन् ।
यसअघिका सबै निर्वाचनहरूमा विष्टको लागि झोला बोकेर हिँडेको स्मरण गर्दै उनले विष्टमा इमान हुन्थ्यो भने यसपटक आफ्नो झोला बोकेर हिँड्नुपर्ने उनको तर्क छ । त्यतिमात्र होइन झाँक्रीले केपी ओली गुट छाडेर माधवकुमार नेपालको गुटमा लाग्न शुरुमा गोकर्ण बिष्टहरुले नै आफूहरुलाई उक्साएको आरोप समेत लगाउने गरेकी छन् । तर पछि विष्टबाट धोका भएको उनको भनाइ छ । विष्टबाट माधव नेपाल र आफूले मात्र होइन मतदाताले पनि पटकपटक धोका पाएको उनको टिप्पणी छ ।
विष्टले पटकपटक जितेको क्षेत्र गुल्मी २ मा अहिले पनि पानी पर्दा हिँड्ने बाटो र बिजुली बत्ति नहुने गरेको, शिक्षाको क्षेत्रमा पनि कुनै विकास नभएको भन्दै फेरि पनि विष्टको जालझेलमा नपर्न मतदातालाई आग्रह गर्छिन ।
गुल्मी २ का एमालेकै केहि नेताहरू पनि अब मत बदल्नुपर्ने बेला भएको स्विकार्छन्, विष्टले आफ्नो फाइदाका लागि गुट र धार बदल्न सक्छन् भने जनताले मत बदल्न पनि सक्ने नेताहरू बताउँछन् ।