अरूको ध्यान चुनावमा, पर्यटनमन्त्री श्रेष्ठको ध्यान मदिरामा
काठमाडौं- देशमा चुनावको माहोल तातेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको ध्यान भने मदिरामा परेको छ ।
नेपालमा प्रतिबन्धमा रहेको विदेशी मदिराको आयात खुलाउन पर्यटनमन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भेटिएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा उनले यस्तो प्रस्ताव लगेको खुलेको छ । उनले व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असर परेको भन्दै प्रस्ताव लगेका थिए ।
बैठकमा मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको बताइएको छ ।
यसअघि होटेल व्यवसायीले मदिराको आयात खुलाउने वातावरण बनाउन माग गर्दै आएका थिए ।
मन्त्री श्रेष्ठले पर्यटनको मुख्य सिजन भएकाले यसमा विचार गर्नु पर्छ भन्ने प्रस्ताव गरेको बताइएको छ।