एमालेले २५ वर्ष गफ मात्रै गर्यो, मैले ५ वर्षमै नमुना जिल्ला बनाउँछु- श्याम घिमिरे
सिन्धुली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताएका छन् ।
बिहिबार क्षेत्र नम्बर १ स्थित दुधौलीमा सत्ता ठबन्धनका उम्मेदवारद्वारा आयोजित घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रममा घिमिरेले सिन्धुलीलाई बिकासमा नमूना जिल्ला बनाउने बताए ।
घिमिरेले आफू सिन्धुलीमै जन्मे हुर्किएकाले सिन्धुली र सिन्धुलीका जनताका समस्या आफूलाई थाहा भएको बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै एमालेले २५ वर्षमा सिन्धुलीमा गर्न नसकेको काम आफूले ५ वर्षमै गरेर देखाउने बताए ।
घिमोरेले विगतमा एमालेका उम्मेदवारले पटक–पटक जितेर गए पनि जिल्लाको विकासमा केही नगरेका दाबी गरे । अब एमालेका झुठा आश्वासन जनताले नपत्याउने घिमिरेको भनाई छ ।
झण्डै दुई तिहाइको बहुमतको सरकार हुँदा पनि एमालेले जनताका पक्षमा काम गर्न नसकेको उनको आरोप छ । घिमिरेले आफूले जितेमा सिन्धुलीका जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने दाबी पनि गरे। ’हामी निर्वाचित भए २५ वर्षमा नेकपा एमालेले गर्न नसकेका काम गर्नेछौं । सिन्धुलीका जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौं,’ घिमिरेले भने ।
शिक्षामा सबैको पहुँच, स्वास्थ्य,खानेपानी, सडक र पूर्वाधारको विकास लगायत ऐतिहासिक सम्पदा, विविध संस्कृति र परम्पराको संरक्षणमा आफ्नो प्राथमिकता रहने पनि उनको भनाई छ ।