मोहनविक्रम सिंह र चित्रबहादुर केसी पार्टीबाट निष्कासित - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मोहनविक्रम सिंह र चित्रबहादुर केसी पार्टीबाट निष्कासित



नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ ।

विशेष महाधिवेशनका निर्णय आज बुटवलमा सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो ।

विशेष महाधिवेशनले शन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली प्रयोग गर्दै आएकोमा अबदेखि महासचिव पदावली प्रयोग गर्ने मशालले गर्नेछ।

नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले पार्टी भित्रका क्रान्तिकारीहरुले लामो समयदेखि पार्टीका गलत नीतिहरू सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले आफूहरूले विद्रोह गरेको बताए ।

नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने जनाएको छ ।

महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव समूहबाट विभाजित भएको नेकपा बहुमत सँग मिल्न सकिने बताए ।

विशेष महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गरेको साथै १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

साथै २ सय जनाको राष्ट्रिय परिषद् समेत गठन भएको मसालले बताएको छ ।