नारायणकाजी श्रेष्ठ भन्छन्- माओवादीमा गुट छैन, कांग्रेस तीन वटा पार्टी हो - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नारायणकाजी श्रेष्ठ भन्छन्- माओवादीमा गुट छैन, कांग्रेस तीन वटा पार्टी हो



काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् ।

बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गोरखा २ मा अध्यक्ष दाहालको जित सुनिश्चित भएको बताए ।

समृद्धि र समाजवादको मोडेल तयार गर्ने उपयुक्त थलो गोरखा भएकाले अध्यक्ष दाहालले गोरखा रोजेको उनको भनाइ छ । श्रेष्ठले पार्टीमा धेरै गुट तथा उपगुट भएको भन्दै असन्तुष्टि व्यक्त गरे । पार्टीभित्र आफू र अध्यक्ष दाहालबीच विभाजन गराउन खोजिएको भन्दै आफूहरू असाधारण एकतामा रहेको स्पष्ट पारे । एक अर्काको पक्षधर लिएर गाली गर्ने काम नगर्न उनले चेतावनी दिए ।

पार्टीभित्र रहेका गुट, उपगुटलाई अन्त्य गर्न आफूहरू लागिपरिरहेको पनि उनको भनाइ छ । ‘पार्टीमा धेरै गुट भोगिएको छ । धेरै भयो गुट, उपगुट । अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई विभाजित गर्ने । कहिले अध्यक्षको पक्षधर भनेर वरिष्ठ उपाध्यक्षको गाली गर्ने । कहिले वरिष्ठ उपाध्यक्षको पक्षधर भनेर अध्यक्षलाई गाली गर्ने दिन गए,’ उनले भने, ‘हामी असाधारण एकतामा छौँ । त्यस प्रकारको जालीझेली काममा नलाग्नु होला । अध्यक्ष प्रचण्डलाई नेता मान्न वरिष्ठ उपाध्यक्षको विरोध गर्नुपर्छ भन्ने प्रवृत्ति पनि घातक हो । अध्यक्ष मुल नेता हो । अध्यक्ष पछिको नेता वरिष्ठ उपाध्यक्ष नै हो ।’

उनले चार पार्टीको गठबन्धन भए पनि नेपाली काँग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरे । काँग्रेसभित्र शेरबहादुर देउवाको अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोईरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको उनले बताए । गठबन्धनको सीमा र जटिलता रहेको भन्दै उनले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्पष्ट पारे ।

यद्यपि सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद् भएको उनको भनाइ छ । ‘यो गठबन्धनको आफ्नै सीमा र जटिलता छन् । कसले बुझेको छैन र ? कांग्रेस काँग्रेस नै हो । हामी क्रान्तिकारी कम्युनिष्ट हौँ । हाम्रो विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम सबै मिलेको मोर्चा त होइन,’ उनले भने, ‘गठबन्धन अहिले पनि निर्वाचनमा जाँदैछ । यो चार पार्टीको गठबन्धन होइन, छ पार्टीजस्तो लाग्छ । किनभने काँग्रेस एउटा पार्टी होइन कहिलेकाहीँ हामीलाई तीन वटा पार्टी लाग्छ । शेरबहादुरजी भन्नुहुन्छ मैले भनेर हुन्न क्या यो रामचन्द्रजीलाई भन्नुपर्छ । त्यसपछि अर्कोपटक आउँछ । यो शेखर र गगनलाई भन्नुपर्छ । एउटा पार्टीसँग कुरा गरेर धर छैन काँग्रेसलाई ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति र गठबन्धन एकतावद्ध भएर जानुपर्ने बताए ।