मधेसी पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएका हौँ- उपेन्द्र यादव - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मधेसी पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएका हौँ- उपेन्द्र यादव



जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्।

बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले सो कुरा बताएका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभामा ९ र प्रदेश सभाका लागि २१ सिट मात्रै दिएर पूरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोज्ने कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको उनले बताए।

उनका अनुसार प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा जसपाले उम्मेदवारि दिएको छ भने १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेस सभा सिटमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ।

उनले भने, ‘संसद् विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि जसपा नेपाललगायत ५ दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भयौँ। तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जसपालाई धोका दिए। जसको ज्वलन्त उदाहरण जनकपुर, विराटनगर र वीरगन्जलाई लिन सक्छौँ।’

यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गरे। उनले देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनः चुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने उनको भनाइ थियो।