रवि लामिछाने नेतृत्वको पार्टीले कमायो साढे २ करोड, कहाँबाट आयो पैसा ?
रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको छ । रास्वपाले सार्वजनिक गरेको आय÷व्यय विवरणअनुसार विभिन्न ७ वटा शीर्षकमा रकम आर्जन गरेको छ ।
त्यसमध्ये, रास्वपाले पार्टीको सदस्यहरूबाट ३ लाख ५० हजार रुपैयाँ लेबी उठाएको छ । यस्तै, विभिन्न संस्था तथा व्यक्तिहरूबाट १ करोड ७ लाख ६४ हजार रुपैयाँ दान पाएको छ । यसबाहेक, पब्लिकेशन मार्फत ५१ हजार रुपैयाँ र संयुक्त अनुदानमार्फत ९० लाख ३४ हजार रुपैयाँ र विभिन्न ऋणमार्फत ५६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ ।
यसबाहेक बिक्री तथा अक्सन र लगानीमार्फत भने आम्दानी नगरेको रास्वपाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यी विभिन्न शीर्षकमा रास्वपाले २ करोड ५१ लाख ४४ हजार ८९४ रुपैयाँ आर्जन गरेको बताइएको छ । यस्तै, यस अवधिमा पार्टीले २ करोड ४० लाख १९ हजार ८९४ रुपैयाँ खर्च समेत गरेको छ ।
पार्टीले कन्फ्रेन्स गरेर २९ लाख ९७ हजार १७५ रुपैयाँ खर्च गरेको छ । यस्तै, तालिमतर्फ १२ लाख ५९ हजार रुपैयाँ तथा कार्यालय स्थापनका लागि ६७ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । पर्चा तथा किताब छपाइमा १८ लाख ७३ हजार रुपैयाँ खर्च हुँदा १ करोड १० लाख रुपैयाँ स्थिर सम्पत्ति तथा लगानीमा खर्च गरेको छ ।
यसैगरी, सामाजिक कार्यमा ५५ हजार रुपैयाँ लगानी भएको पार्टीले जनाएको छ । यसअनुसार, पार्टीले आर्जन गरेको रकमको तुलनामा हाल १० लाख रुपैयाँ बचतमा छ ।