विराटनगरमा नेता र उम्मेदवार बहिस्कार अभियान, टोलमा प्रवेश निषेध
विराटनगर- विराटनगरका स्थानीयले नेता तथा उम्मेदवार बहिस्कार अभियान चलाएका छन् । एक वर्षअघि सुरु भएको नेता बहिस्कार अभियानलाई अहिले उम्मेदवार बहिस्कार अभियान भनेर चलाएका छन्।
ग्राभेल सडक कालोपत्रे नभएपछि स्थानीयबासिन्दाले चुनावको मुखमा नेता बहिस्कार अभियान सञ्चालन गरेका हुन् । सडक कालोपत्रे गर्न पटक पटक माग गर्दा पनि काम नभएको भन्दै उनीहरूले नेता तथा उम्मेदवार बहिस्कार अभियानमा जुटेका हुन्।
विराटनगर महानगरपालिका ४ र ५ मा पर्ने जमुनगाछीका बासिन्दाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता बहिस्कार अभियान सुरु गरेको बताइएको छ । कोसी राजमार्ग पश्चिमको क्षेत्रलाई विकासबाट वञ्चित गराएको भन्दै स्थानीयबासिन्दाले नेताको फोटो सहितको ब्यानर टाँसेका छन् ।
स्थानीयबासिन्दाले राखेको ब्यानरमा लेखिएको छ, ‘२०४६ सालदेखि बारम्बार सत्तामा बसेर पनि हाइवे पश्चिम केही विकास नगरी हाइवे पश्चिमलाई विकासबाट बञ्चित गराएर भेदभाव गरेर सामाजिक, कानुनी र नैतिक अपराध गर्ने जनताका अपराधी नेताहरूलाई चिनिराखौं, विराटनगर र समग्र मोरङ जिल्लाकै विकासका बाधक यी नेताहरू र तीनका पार्टीलाई अबको निर्वाचनमा बहिस्कार गरौं ।’
ब्यानरमा काङ्ग्रेस नेता डा. शेखर कोइराला, भीम पराजुली, केदार कार्की, मिनेन्द्र रिजाल, महेश आचार्य, यस्तै एमालेका गुरु बराल, लालबाबु पण्डित र जीवन घिमिरेको फोटो राखिएको छ ।
सडक निर्माणको ठेक्का लिएको कम्पनीले पनि काम नगरेको भन्दै उनीहरुले ठेकेदारको फोटो पनि टासेका छन् । भूमि इन्फास्ट्रक्चर प्रालीका अध्यक्ष शुभम बोहोरा र खुस्बु कन्ट्रक्सनका ठेकेदार दिपक पौडेल र दुश्यान्त पौडेलको पनि फोटो पनि टासेका छन् ।