'लौरो' लिएका उम्मेदवारहरूलाई आयोगले सोध्यो भट्टाभट स्पष्टीकरण - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

‘लौरो’ लिएका उम्मेदवारहरूलाई आयोगले सोध्यो भट्टाभट स्पष्टीकरण



काठमाडौं : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले स्पष्टीकरण सोधेको छ।

पार्टीका उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने काम गरेको आयोगले जनाएको छ।

हाम्रो नेपाली पार्टी उम्मेदवारले आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको हो।

आयोगले पहिलो हुने निर्वाचित हुनेतर्फ काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका सर्लाही क्षेत्र नं. २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगानालाई स्पष्टीकरण सोधेको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ।