अन्तराष्ट्रिय मिडियामा बालेन शाहको चर्चा
काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह नेपालका मात्र होइन अन्तराष्ट्रिय मिडियामा समेत छाएका छन् । शाहले दुई प्रमुख दलका उम्मेदवारलाई पछि पारेपछि अन्तराष्ट्रिय मिडियाले उनीबारे लेखना थालेका छन् ।
मतगणना सुरू भएपछि लगातार अग्रता लिइरहेका बालेन । अहिलेसम्मको नतिजा हेर्दा बालेनले राम्रो मत प्राप्त गरेर मेयरमा जित्ने देखिएको छ । यद्यपी गन्न बाँकी मत अत्यधिक भएकाले ठ्याक्कै भन्ने अवस्था भने छैन । ठुलो विरासत र संगठन भएका एमाले र कांग्रेसका उम्मेदवारलाई लगातार पछि पर्दै उनी लम्किरहेका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन उम्मेदवारी दर्ता गरेदेखि नै चासो र चर्चाका विषय बनेका थिए । बालेनले विशेष गरी देशभरका युवाको समर्थन पाएका छन् । बैशाख ३० गते भएको निर्वाचनपछि यसको नतिजाका लागि देशभरको ध्यान नै अहिले काठमाडौं केन्द्रित भएको अवस्थामा भारतीय मिडियाले पनि बालेन बारे समाचार प्रकाशित गरेका छन् ।
भारतको दैनिक पत्रिका दैनिक जागरणले काठमाडौंको मेयर पदमा स्वतन्त्रका तर्फका उम्मेदवार बालेनले अग्रता लिएको उल्लेख गरेको छ । साथै जागरणले लेखेको छ, ‘युवाहरुको समर्थन जुटाइरहेका ३२ वर्षीय शाह एक लोकप्रिय र्याप गायक हुनुका साथै पेशाले इन्जिनियर पनि हुन् । तर, अझै धेरै मत गणना हुन बाँकी छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १८६ मत खसेको छ ।’
साथै ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकाको मतगणनाबारे पनि जागरणले लेखेको छ । यसमा ललितपुरमा गठबन्धनले नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको र एमालेले मेयरमा हरिकृष्ण ब्याञ्जनकरलाई उम्मेदवार बनाएको लेखेको छ । भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल, एमालेका विजय सुवेदी र जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा प्रतिस्पर्धा गरेको पनि भारतीय पत्रिकाले उल्लेख गरेको छ ।