एमालेका दुई भेट्रान नेताको क्षेत्रमै कमजोर भयो एमाले
नेकपा एमालेका दुई भेट्रान नेताका क्षेत्रमा नै एमाले कमजोर देखिएको छ । मतदातामाझ निकै लोकप्रिय मानिएका एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुबैको क्षेत्रमा एमालेको मत तुलनात्मक रूपमा कम आएको देखिएको छ ।
बुटवलदेखि दाङसम्म नै यसअघि एमालेको दबदबा थियो तर पार्टी विभाजन र राजनीतिक लेनदेनका कारण एमाले कमजोर बनेको देखिएको छ । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामध्ये घोराही, बुटवल र नेपालगञ्जमा मतगणना भइरहेको छ। यी उपमहानगरमा सत्ता गठबन्धनमा उम्मेदवार अगाडि छन्।
तुलसीपुर उपमहानगरपालिकामा भने गणना भएको छैन। तुलसीपुर-१७ को निर्वाचनपछि मात्र मतगणना हुने मुख्य निर्वाचन कार्यालयले जनाएको छ।
मतगणना भइरहको तीन वटै उपमहानगरमा गठबन्धनले अग्रता कायम गर्दै आएको छ। बुटवल उपमहानगरमा गठबन्धनले फराकिलो मतले अग्रता लिएको छ। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे करीब दोब्बर मत सहित अगाडि छन्। शुरूआतदेखि नै अग्रता कायम गरेका पाण्डेले पछिल्लो पटक दुई हजार २१४ मत प्राप्त गरेका छन्।
उनलाई नेकपा (एमाले) का बाबुराम भट्टराईले पछ्याइरहेका छन्। भट्टराईले एक हजार ३१२ मत प्राप्त गरेका छन्। राप्रपाका मृगेन्द्र शेरचन ४१९ मत ल्याएर तस्रो स्थानमा छन्।
उपमेयरमा भने एमालेका उम्मेदवार अग्रस्थानमा छन्। एमालेकी सावित्रा अर्यालले एक हजार ४८२ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङले एक हजार २८१ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्।
घोराही उपमहानगरपालिकाकाे मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले दुई हजार ९३७ मत ल्याएर अग्रस्थान छन्। त्यसै गरी एमालेका नरुलाल चौधरीले दुई हजार ६०३ मत ल्याएर दोस्रो स्थान छन्।
उपमेयरमा पनि गठबन्धन (नेपाली कांग्रेस) का भूपबहादुर डाँगीले अग्रता कायम गर्दै आएका छन्। उनले तीन हजार १५२ मत प्राप्त गरेका छन्। एमालेकी हुमा डिसीले दुई हजार ४१४ मत प्राप्त गरेकी छन्। घोराहीमा वडा नम्बर १४, १५, १६, १७, १८ र १९ को मतगणना भइरहेको छ।
त्यसै गरी नेपालगञ्ज उपमहानगरमा गठबन्धन (नेपाली कांग्रेस) का प्रशान्त विष्टले ४१० मत ल्याएर अग्रस्थानमा छन्। उनलाई एमालेका पशुपति दयाल मिश्राले पछ्याइरहेका छन्। मिश्रले २२६ मत प्राप्त गरेका छन्। राप्रपाका नन्दलाल वैश्य २१२ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन्।
यसै गरी उपमेयरमा गठबन्धन (जनता समाजवादी पार्टी) का करुद्दीन राईले ३०७ मत ल्याएर अग्रस्थानमा छन्। राप्रपाकी विन्दुचर्ती मगरले २५९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकी छन्। उनलाई एमालेकी शान्तिदेवी ढकालले पछ्याइरहेकी छन्। ढकालले २२६ मत प्राप्त गरेकी छन्।