एमालेका 'गढ'बाट बालेनलाई अत्यधिक मत, स्थापितलाई एमालेले नै पत्याएनन् - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एमालेका ‘गढ’बाट बालेनलाई अत्यधिक मत, स्थापितलाई एमालेले नै पत्याएनन्



काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । यी वडा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको गड मानिएको थियो ।

त्यतिखेर यी वडाहरूमा वडाध्यक्ष नेकपा एमालेले जितेका थिए । त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाबाट यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई अत्यन्तै कम भोट परेको छ ।

स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले यी क्षेत्रबाट बढी मत पाएका छन् । ६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत प्राप्त गरेका छन् ।

बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको १ हजार ४२७ र कांग्रेसकी सिर्जना सिंहको १ हजार १६८ मत छ । यी वडाहरुको करिब आधा मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नक्साल क्षेत्र पर्ने वडा नं. १ बाट बालेनले ५१५ मत पाउँदा सिंहले ३३२ र स्थापितले २६१ मत पाएका छन् । यो वडामा तीन हजार तीन सय ६० मतदाता रहेकामा तीन हजार ३५४ मत खसेको छ ।

वडा नं. १ को अध्यक्षमा एमालेबाट भरतलाल श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसबाट किरण श्रेष्ठ, माओवादी केन्द्रबाट अर्जुन महर्जन र नेकपा एकीकृत समाजवादीबाट पुष्पकाजी श्रेष्ठ उम्मेदवार छन् ।

लाजिम्पाट क्षेत्र पर्ने वडा नं. २ मा बालेनले ५३० मत पाउँदा स्थापितले ३१३ र सिंहले १७७ मत पाएकी छन् । वडा २ को १४ सय मत गणना भएको छ ।

वडा नं. २ मा राजेन्द्र श्रेष्ठ एमालेबाछट वडाध्यक्षको उम्मेदवार छन् । श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा यही वडाबाट सदस्यमा विजयी भएका थिए । कांग्रेसबाट सुर्य लाल महर्जन र नेकपा माओवादीबाट रमेश डंगोल वडाध्यक्षको उम्मेदवार छन् ।

महाराजगञ्ज क्षेत्र पर्ने वडा नम्बर ३ बाट बालेनले ३०५ मत पाउँदा स्थापितले २९२ र सिंहले १६८ मत पाएकी छन् । वडा नं. ३ मा ९ हजार ३९० मतदाता छन् ।

यो वडामा एमालेले प्रेम थापा, कांग्रेसले राजेश अधिकारी र नेकपा एकीकृत समाजवादीले दीपक केसीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

बालुवाटार क्षेत्र पर्ने वडा नं. ४ मा बालेनले ५३० मत पाउँदा स्थापितले २६२ र सिंहले २३८ मत पाएकी छन् । वडा नं. ४ को अध्यक्षका लागि एमालेबाट दिनेश महर्जन, कांग्रेसबाट रामप्रसाद न्यौपाने र माओवादी केन्द्रबाट रमेशकुमार राई उम्मेदवार छन् ।

कोटेश्वर क्षेत्र पर्ने वडा नं. ३२ मा बालेनले ५७७ मत पाउँदा स्थापितले २९९ र सिंहले २५३ मत पाएकी छन् । कोटेश्वर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पकड क्षेत्र मानिन्छ ।

यो वडामा नेकपा एकीकृत समाजवादीले सीता कँडेललाई कांग्रेसको समर्थनमा वडाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले नवराज पराजुली, माओवादी केन्द्रले राम भारतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।