प्रचण्ड आफैले तोडे गठबन्धन
धनगढी- सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आफैले गठबन्धनको निर्णय विरुद्ध लागेका छन् । उनले गठबन्धन अझै क्लियर नभएको भन्दै गठबन्धनका उम्मेदवार छोडेर माओवादीका उम्मेदवारलाई भोट मागेका छन् ।
कैलाली पुगेका प्रचण्डले सत्ता गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् । उनले अझै गठबन्धन क्लियर नभएको भन्दै अब माओवादीका उम्मेदवार जिताउन लाग्नुपर्ने बताए । प्रचण्डले गठबन्धनले कारबाही गरेका उमेदवारलाई भोट मागेका छन् ।
आइतबार कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलको सहमतिविपरीत नेपाली कांग्रेसले उमेदवारी दिन लगाएर धोखा दिएको बताए ।
उनले भने, “नेपाली कांग्रेसको एकजना स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौँ । उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उमेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ । हाम्रा उमेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।”
उनले ‘प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ सबै झुक्नैपर्छ भन्ने नरहेको’ बताए ।
कारबाही गरेका उमेदवारलाई मागे भोट
प्रचण्डले गठबन्धनले कारबाही गरेका उमेदवारलाई भोट समेत मागेका छन् । गठबन्धनबाट कारबाहीमा परेकी उमेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट हाल्न उनले आह्वान गरे । उनी कैलारी गाउँपालिकाको उपाध्यक्ष पदकी उमेदवार हुन् ।
गठबन्धनले सिट बाँडफाँड गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । तर, गठबन्धनको सहमति तोड्दै कांग्रेसले त्यहाँ अध्यक्षमा राजसमझ चौधरीको उमेदवारी दर्ता गराएको थियो । माओवादी केन्द्रले लक्ष्मी सत्गौवा थारुलाई उपाध्यक्षमा उठायो ।
कांग्रेस र माओवादीले आग्रह गर्दा पनि चौधरी र थारुले उमेदवारी फिर्ता लिएनन् । वैशाख १९ गते गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै उमेदवारलाई कारबाही गरेको जनाएको थियो ।
विज्ञप्तिमार्फत गठबन्धनको निर्देशनविपरीत मनोनयन दर्ता गर्ने उमेदवारहरू आधिकारिक नभएको जनाइएको थियो । पत्रकार सम्मेलनमार्फत उनीहरूलाई असहयोग गर्न पनि आग्रह गरिएको थियो ।