केशव स्थापित भन्छन्: म विश्वकै उत्कृष्ठ मेयर हुँ - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

केशव स्थापित भन्छन्: म विश्वकै उत्कृष्ठ मेयर हुँ



काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेका उम्मेदवार केशव स्थापितले आफू विश्वकै उत्कृष्ठ मेयर भएको दाबी गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्थापितले यस्तो दाबी गरेका हुन् ।

पटकपटक विवादमा आएका स्थापितले काठमाडौंमा आफ्नो पक्षमा एकोहोरो माहोल बनेको दाबी गर्दै यसअघि नै आफू प्रमाणित भइसकेको बताएका छन् ।

उनले आफू विश्वकै उत्कृष्ट मेयरमा परेको भन्दै काठमाडौंको मेयरका लागि उठेका आफ्ना प्रतिस्पर्धीहरू तुलनात्मक रूपमा कमजोर भएको उनले बताए।

उनले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे। आफ्ना प्रतिस्पर्धीहरू बिना कुनै एजेण्डा आएको आरोप पनि उनको थियो।

संवादमा उनले यसअघि मेयर बन्दा आफूले काम गरेर देखाएकै कारण अहिले आफ्नो पक्षमा माहोल भएको दाबी गरे। मेयरमा जितेपछि अहिलेको भन्दा १० गुणा बढी राजस्व उठाएर काम गर्ने प्रतिवद्धता गर्दै उनले मेयर जितेको भोलिपल्टबाटै आम नागरिकका समस्याको सुनुवाइ गर्ने बताए।

मेयर जितेपछि सबैभन्दा पहिले त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्ने बताउँदै उनले बिना कुनै एजेण्डाका प्रतिष्पर्धी आउँदा २० वर्षको शिक्षा दिनुपर्ने राजनीतिक अवसर गुमाएको उनले बताए। स्थानीय सरकारले शक्तिको अवसर नपाएकाले विकासमा बाधा पुगेकाले सरकारले ४ अर्ब रुपैयाँ छुट्याएर सबै काम गर्न लगाएकोमा आपत्ति जनाए।

उनले भने, ‘‘काठमाडौं महानगरपालिकालाई ४ अर्ब पैसा दिएर सबै सिटी म्यानेज गर भनेर भन्ने त्यो सबै सामन्ति भन्छ नि, त्यो होल्ड गरेर राख्न पाइन्छ ? मलाई ४० अर्ब चाहिन्छ नत्र म काठमाडौं बन्द गर्छु भनेर यो उपत्यका भरका सबै मेयरले भन्ने हो।”

महानगरको राजस्व मात्रै ४८ अर्ब रुपैयाँ उठ्न बाँकी रहेको आफ्नो टिमले अध्ययन गरेको र मेयर जितेको ६ महीनाभित्र त्यो उठाउने उनले बताए।

उनले भने, ‘‘४८ अर्ब रुपैयाँ त उठ्न बाँकी रहेछ। जनता तिर्न तयार छ तर उठेको छैन। त्यो छानबिन गरेर जे पर्छ व्यहोर्छु भन्ने मान्छे मेयर हुनुपर्छ। ४८ अर्ब रुपैयाँ म ६ महीनामा उठाउँछु भन्ने लागेको छ। कुनै जोड जुलुम नगरिकन।”