ओलीले भने: प्रचण्ड जस्तो बिरालोलाई देउवाले भन्दा मैले धेरै दूध भात दिन सक्छु - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

ओलीले भने: प्रचण्ड जस्तो बिरालोलाई देउवाले भन्दा मैले धेरै दूध भात दिन सक्छु



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गर्दै कटाक्ष गरेको छन्।

उनले एमालेसँग एक साताभित्र गठबन्धन टुटाउन सक्ने क्षमता रहेको दाबी गर्दै पत्रकार सम्मेलनमा भने, ‘एकैछिनमा होइन। हामीले चाहेमा एक हप्तामा गठबन्धन ढल्छ। त्यसका लागि केही भन्नै पर्दैन। बिरालो किन्न पर्दैन भन्ने तपाईंलाई थाहै होला। बिरालोलाई जसले ठूला कचौरामा दूध भात दिन्छ। उसैकहाँ जान्छ। कसैको सवाल जवाफ छैन। बिरालो लिने क्षमता कांग्रेसको भन्दा हाम्रो धेरै छ।’

निर्वाचन भयरहित वातावरणमा हुनुपर्ने भए पनि गठबन्धनका नेताहरूले आचारसंहिता उल्लंघन गरेर धम्की दिएको आरोप लगाए। प्रचण्डले चितवनको कांग्रेसीले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्ने भनेर जनतालाई थर्काएको उनको भनाइ छ।

प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानकर्षणसमेत गराए। ‘गठबन्धनको एउटा मै हुँ भन्ने नेताले जनतालाई धम्काएर दुर्घटनामा देश जान्छ भनेर तर्साएर भोट माग्न पाइन्छ’ ओलीको भनाइ छ। माओवादीका कार्यकर्ताले अझै आपराधिक काम गरिरहेको बताए।

‘प्रचण्डले मेरी छोरीलाई जिताउँदैनौँ भने ठूला दुर्घटनामा हुन्छ। रुख वालाले हँसिया हथौडामा छाप लगाइन्न भने दुर्घटना हुन्छ। मेरी छोरीले खुरुखुरु भोट हालेर जिताउँछु भने खुसी हुन्छ। उत्साहित हुन्छु। त्यसो भयो भने गठबन्धन १०/१५/२० बर्षसम्म टिकाउँछु यस्तो भन्न मिल्छ? ओलीले प्रश्न गर्दै भने।

आफ्नो छोरीलाई जिताउन चितवनमा प्रचण्डले दिएको अभिव्यक्ति आचारसंहिता विपरित र अराजनीतिक भएको दाबी गरे।

निर्वाचन आयोगले गठबन्धन बाहेक अरूसँग परामर्श नगरेको आरोप लगाए। गठबन्धनका दलले एउटाले अर्को दललाई खुलेआम भोट माग्दा समेत आयोग मौन बसेको उनको भनाइ छ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति पनि कटाक्ष गर्दै भने, ‘रेनुलाई भोट माग्न देउवासहितका नेताहरू अरु जानुभयो। त्यसको भोलिपल्ट काठमाडौंमा देउवाजीले त रेनुलाई प्रचण्डले होइन मैले उठाएको भन्नुभयो। प्रचण्डले धम्काउन देउवाजी कति डराएछन् भन्ने त त्यही अभिव्यक्तिबाट बुझिन्छ।’