जगन्नाथ पौडेललाई फकाउन रामचन्द्र बिहानैदेखि खटिए, वार्ता जारी
काठमाडौं- सत्ता गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले भरतपुरको विवाद मिलाउन अग्रसरता देखाएका छन् ।
भरतपूर महानगरापालिकामा बागी उम्मेद्वार जगन्नाथ पौडेललाई उनले बिहिबार बिहानै भेट गरेका छन् । जगन्नाथ पौडेल निकट स्रोतका अनुसार अहिले उनीहरूबीच छलफल भैरहेको छ ।
बिहानै दुई पौडेलबीचको भेटवार्ता सुरु भएको बताइएको छ। जगन्नाथ पौडेल भरतपूर महानगरपालिका प्रमुख पदको स्वतन्त्र उम्मेदवार बनेपछि गठबन्धनलाई समस्या परेको छ ।
उनी नेपाली कांग्रेसको सक्रिय सदस्य तथा पूर्व सांसद समेत हुन् । तर, भरतपूरमा चुनावी गठबन्धनका कारण माओवादी केन्द्रले नगर प्रमुखको टिकट पाएसँगै असन्तुष्ट पौडेलले प्रमुखमा उमेदवारी दिएका हुन् ।
पौडेलको उमेदवारी फिर्ता गराउन भन्दै गृहमन्त्री बालकृष्ण खाण यसअघि नै भरतपूर पुगेर प्रयास गरेका थिए । तर, त्यो प्रयास सफल हुन सकेन ।
पौडेलले आजै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेट्ने बताइएको छ ।