एमालेका उम्मेदवारहरूलाई सार्वजनिक कार्यक्रम र मिडियामा बोल्न प्रतिबन्ध - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एमालेका उम्मेदवारहरूलाई सार्वजनिक कार्यक्रम र मिडियामा बोल्न प्रतिबन्ध



काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचन–२०७९ मा उठेका उम्मेदवारहरुमाथि लगाम लगाउने भएको छ । केहि उम्मेदवारहरूले कार्यक्रम तथा मिडियामा लगातार विवादित अभिव्यक्ति दिएका कारण एमालेमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि उम्मेदवारमाथि लगाम लगाइएको हो ।

काठमाडौंकै मेयर पदका उम्मेदवार रहेका केशव स्थापितलगायतका नेताहरूले जथाभावी बोलेपछि एमालेका उम्मेदवारहरुलाई पार्टीको निर्वाचन परिचालन कमिटीको अनुमति लिएर मात्रै बोल्नुपर्ने नियम लगाइएको छ ।

एमालेका एक केन्द्रीय सदस्यका अनुसार उम्मेदवारले जथाभावी बोलेर पार्टीलाई नै अफ्ठ्यारोमा पारेका कारण यस्तो लगाम लगाइएको बताए । काठमाडौंको प्रमुखमा उठेका स्थापित एकपछि अर्को विवादमा परेर पार्टीमाथि नै समस्या आएको उनले बताए ।

उनका अनुसार अब स्थानीय तहका कुनै पनि उम्मेदवारले निर्वाचन परिचालन कमिटीको अनुमति लिएपछि मात्रै सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमसँग बोल्न पाउनेछन् ।

अहिले ईश्वर पोखरेल निर्वाचन परिचालन तथा निर्देशक समितिको प्रमुख छन् । अब उनको अनुमतिबिना उम्मेदवारले बोल्न पाउने छैनन् । ईश्वर पोखरेल र उनको टिमसँग परामर्श गरेर दिएको समय र दिएको कन्टेन्टमा मात्रै बोल्न पाउनेछन ।

एमालेको अनुशासन कमिटीले पनि अनुमोदन नभएका ठाउँ र सञ्चारमाध्यममा नबोल्न चेतावानी दिएको बताइएको छ । स्थापितले यसअघि पार्टीसँग समन्वय नगरी बोल्दा पार्टीलाई नै समस्या परेको थियो ।

केहीदिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा स्थापितमाथि यौन दुराचारबारे गरिएको प्रश्नमा उनले जथाभावी बोलेका थिए । त्यसपछि आफ्नै प्रतिद्वन्दी उम्मेदवार बालेन शाहमाथि पनि विभिन्न टिप्पणी गरेका थिए । यहि विषयलाई लिएर निर्वाचन आयोगले उनलाई स्पष्टिकरण समेत मागेको छ ।