यी ११ कुरामा ध्यान दिनुहोस् तपाईंले दिएको मत बदर हुनेछैन
काठमाडौं- स्थानीय तहको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरू नमूना मतपत्र लिएर घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले निर्वाचन शाक्षरताका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार गरिरहेको छ । तर पनि धेरैजसो मतदाता अहिलेको मतपत्र देखेर अलमल परेको देखिएको छ ।
यसअघि भएका निर्वाचनमा निकै धेरै संख्यामा मत बदर भएका उदाहरणहरू छन् । वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचनमा आफूले दिएको मत बदर नहोस भनेर निकै ध्यान पुराउनुपर्ने हुन्छ।
७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्नका लागि गर्ने मत बदर भएको खण्डमा पनि आफ्नो उम्मेदवारले हार्ने सम्भावना हुन्छ । अहिलेको मतपत्र ठुलो हुने भएकाले पनि मतदातालाई मतदानमा समस्या हुनसक्ने देखिएको छ ।
आफ्नो सानो त्रुटिका कारण पनि आफ्नो उम्मेदवारले तपाईंले हालेको मत नपाउन सक्छन । एक मतको कारणले हारजित भएका धेरै उदाहरणहरू छन् । त्यसैले मतदान गर्दा विभिन्न कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ । निर्वाचनले आयोगले मत बदर हुन नदिन केही विषयमा सचेत रहनुपर्ने जनाएको छ ।
मत बदर हुने अवस्था
१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रमा मत दिनु हुँदैन, यो मतपरता फर्जी हुन्छ ।
२. मतपत्रमा चुनाव चिन्ह अगाडी औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएमा पनि मत बदर हुन्छ ।
३. मत संकेत वा चुनाव चिह्नमा लगाइने छाप नबुझिने गरी लतपतिएको वा च्यातिएको अवस्थामा पनि मत बदर हुन्छ ।
४. उमेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत वा छाप लानागाई अन्यत्र मत संकेत गरिएको अवस्थामा पनि मत बदर हुनेछ ।
५. उमेदवार नै नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत वा छाप लगाएमा पनि मत बदर हुनेछ ।
६. कुनै पनि उमेदवारको निर्वाचन चिह्नमा मत संकेत वा छाप नलगाएमा पनि मत बदर हुनेछ ।
७. निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उमेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत वा चाप लगाइएको अवस्थामा पनि तपाईले दिएको मत बदर हुनेछ ।
८. मत संकेत वा छाप नलगाई नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको खण्डमा पनि यो बदर हुनेछ ।
९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको अवस्थामा पनि बदर हुनेछ ।
१०. निर्वाचन चिन्हमा छाप लगाएको मतपत्र मतपेटिकाभन्दा बाहिर राखेको खण्डमा पनि तपाईंको मत गनिने छैन ।
११. जाली मतपत्र, नमूना मतपत्रमा छाप लगाएको खण्डमा पनि यो मत गनिने छैन ।