बिहानैदेखि काठमाडौंमा वर्षा, यस्तो हुनेछ दिनभरको मौसम - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

बिहानैदेखि काठमाडौंमा वर्षा, यस्तो हुनेछ दिनभरको मौसम



काठमाडौं । हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि बिहानदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि बदली रहनेछ ।

प्रदेश–१, मधेस र गण्डकी प्रदेशका केही स्थानहरू र वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।