फेरि विवादित बने केशव स्थापित, निर्वाचन आयोग मौन
काठमाडौं । काठमाडौं महानगपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापितले फेरि विवादित अभिव्यक्ति दिएका छन् । लगातार विवादमा पर्दै आएका स्थापितले स्वतन्त्र उमेदवार बालेन शाहको आलोचना गर्दै विवादित अभिव्यक्ति दिएका छन् ।
निर्वाचन आयोगले कुनैपनि उम्मेदवारको बारेमा अस्वाभाविक अभिव्यक्ति र झुठा लान्छना नलगाउन लगातार सचेत गराइरहेका बेला स्थापितले भने लगातार यस्ता अभिव्यक्ति दिइरहेका छन् । उनले लगातार कहिले महिलामाथि त कहिले उम्मेदवारमाथि यस्ता अभिव्यक्ति दिँदा आयोगले कुनै प्रतिक्रिया जनाएको छैन ।
आयोगले आइतबार पनि सार्वजनिक स्थल र सामाजिक संजालमा उम्मेदवारबारे विवादास्पद अभिव्यक्ति नदिन सचेत गराएको थियो । तर स्थापितले आफ्नै प्रतिद्वन्द्वी बालेन शाहलाई ठगको बिल्ला भिराएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले शाहलाई अन्तर्राष्ट्रिय ठगको आरोप लगाए । उनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्याइरहेको आरोपसमेत लगाए ।
“एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेका थिएँ,” स्थापितको आरोप थियो, “हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाला ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? ”
स्थापितले शाहलाई मधेसको मान्छे भनेर काठमाडौंमा आउने आँट किन गर्न नसकेको भन्दै प्रश्न समेत गरे ।