बागी उठेका जगन्नाथले प्रचण्डसँग राखे नयाँ प्रस्ताव
काठमाडौँ- भरतपुर महानगरको मेयर पदका लागि बागी उम्मेदवार जनन्नाथ पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नयाँ प्रस्ताव राखेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका शिर्ष नेताहरूले उनलाई लगातार दवाव दिएपछि उनले नयाँ प्रस्ताव ल्याएका हुन् ।
भरतपुर महानगरपालिकामा फेरि पनि रेणु दाहाललाई नै मेयरमा समर्थन गरेको भन्दै भरतपुर कांग्रेस निरन्तर आन्दोलनमा छ भने नेपाली कांग्रेसको तर्फबाट जनन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । उनले पार्टीको निर्णयविपरित उम्मेद्वारी दिएको भन्दै पार्टीले उम्मेदवारी फिर्ता लिन लगातार आग्रह गरेको छ ।
पौडेललाई फकाउन चितवनमा माओवादी केन्द्रका शिर्ष नेतादेखि कांग्रेसका शिर्ष नेताहरू पुगेका थिए । गृह मन्त्री बालकृष्ण खाँणलाई पार्टी सभापति शेरबहादुर देउवाले पौडेलले फकाउन भन्दै चितावन पठाएका थिए । तर दुई दिन बस्दा पनि खाँणले उनलाई फकाउन भने सकेनन् । यसबीचमा माओवादी केन्द्रका नेताहरूले उनलाई विभिन्न प्रस्ताव गरेको तर उनले अस्विकार गरेको खबरहरू बाहिरिएका थिए ।
पछिल्लो समय माओवादीका अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव अस्विकार गरेका उनले प्रचण्डलाई नयाँ प्रस्ताव सुनाएका छन् । जसमा उनले प्रचण्डसँग रेणु दाहाललाई संघीय चुनावमा सांसद बनाउन सकिने प्रस्ताव ल्याएका थिए । उनले रेणुको उम्मेदवारी फिर्ता गराऔँ । उनलाईलाई आगामी संघीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार बनाएर जिताउने बचन दिन्छु, भन्दै प्रस्ताव गरेका छन् ।
यसअघि पनि माओवादीलाई जिताव्को भन्दै पौडेलले भरतपुरमा नेपाली कांग्रेसको विरासत जोगाउनकै लागि पनि आफुले उम्मेदवारी दिनुपर्ने बाध्यता आइपरेको पौडेलले बताएका थिए । अहिले आफूले कुनै हालतमा उम्मेदवारी फिर्ता लिन नसक्ने भन्दै उनले यस्तो प्रस्ताव ल्याएका थिए ।
पौडेललाई फकाउन कांग्रेसले सबै प्रयास गरेपनि उनले आफ्नो अडान भने छाडेका छैनन् । पार्टीले कारबाही गर्ने, अप्ठ्यारो पर्ने र पछि पार्टीमा फर्किन सक्ने अवस्था नहुने बह्न्दै कांग्रेसले उनलाई दवाव दिएको थियो ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली समेत उनलाई फकाउन खटिएको बताइएको छ ।
पौडेलले शुरुमा उम्मेदवारी फिर्ता लिन मनस्थिती बनाएका थिए । तर कांग्रेस कार्यकर्ताले फिर्ता नलिन दवाव दिएका छन् । पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि फोन गरेर आगामी संघिय निर्वाचनमा रेणु दाहाललाई त्यस क्षेत्रको साझा उम्मेदवार बनाएर लैजाने प्रस्ताव गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले गृह मन्त्री खाँणसँग भने यसपाला पनि रेणुलाई जिताए अर्को बर्षबाट भरतपुरमा कांग्रेसले स्पेश खोज्न नसक्ने चेतावनी दिएका छन् । पहिलो निर्वाचनको तुलनामा माओवादी केन्द्र र एमालेले आफ्नो संगठनमा धेरै सुधार गरेको भन्दै उनले भरतपुरमा कांग्रेसको विरासत भत्किन लागेको बताएका थिए ।