भरतपुरमा कांग्रेस र माओवादीका शीर्ष नेताहरूको प्रयास असफल
भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउने नेपाली कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रयास असफल भएको छ।
पौडेल अडिग भएपछि उनको उम्मेदवारी फिर्ता गराउने नेताहरूको प्रयास असफल भएको हो। सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्रले पाएको भरतपुर महानगरपालिकामा रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छन्।
गठबन्धनको नाममा भरतपुर छोडेको भन्दै असन्तुष्ट बनेका पूर्वसांसद एवं कांग्रेस नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। भरतपुर महानगरको पूर्वउपमेयरसमेत रहेका पौडेलेको उम्मेदवारी फिर्ता गराउने प्रयासस्वरूप कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाण बुधबार भरतपुर पुगेका थिए।
बिहीबार खाणले पौडेललाई उनको घरमै भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। उनले पौडेलका प्रस्तावक र समर्थकहरूलाई समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। बिहीबार साँझ खाँणले आफू बसेको होटलमा पौडेललाई बोलाएका थिए। तर, पौडेल जान मानेन्।
खाणका साथै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि भरतपुर पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार फोन गरेर उम्मेदवारी फिर्ता लिन पौडेललाई आग्रह गरेका थिए। पौडेलले आफू धेरै अगाडि बढिसकेको र निर्णय अब चितवन कांग्रेसका नेता–कार्यकर्ताको हातमा रहेको जवाफ दिएका थिए।
यसका साथै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन पौडेललाई आग्रह गरेका छन्। तर, पौडेल भने आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने बताएका छन्। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन शुक्रबार साँझ ५ बजेसम्मको समय तोकेको छ। ‘साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले समय तोकेको छ, मेरो उम्मेवारी फिर्ता हुँदैन,’ पौडेल भन्छन्,‘भोलि चुनाव चिह्न पाउँछु, अनि घरदैलो कार्यक्रम सुरू हुन्छ।’
पार्टीको एक सामान्य कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन शीर्ष तहबाट आइरहेको दबाबलाई उनले लोकतान्त्रिक अधिकारको प्रयोगमाथि हस्तक्षेप बताएका छन्। ‘चुनाव लड्न पाउनु हरेक नागरिकको संवैधानिक अधिकार हो, मैले त्यही अधिकार प्रयोग गरेको छु,’ उनले भने,‘म जस्तो सामान्य मान्छेलाई उम्मेदवारी फिर्ता लिन दबाब दिनुको कुनै औचित्य नै देख्दिनँ।’