स्थापितले माफी नमागे कानुनी उपचार खोजिने - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

स्थापितले माफी नमागे कानुनी उपचार खोजिने



महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गरेकी छन् । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत दिएकी हुन् ।

सामाजिक सञ्जालमा शर्माले लेखेकी छन्, ‘कानुनी उपचारमा गएको भए यति बेला सम्म फैसला पनि भइसक्थ्यो । दोषीले कानुनी रूपमा सजाय पनि भोगी सकेका हुन्थे । तर अझ पनि ढिला भएको छैन । कानुनी प्रक्रियामा जाऊँ । हामी साथमा नै छौँ तर यसलाई चुनावी एजेण्डा मात्र नबनाऊ ।’

चुनावमा अनेक फण्डा निकालेर एक उम्मेदवारले अर्को उम्मेदवार माथि आरोप प्रत्यारोप गर्नु पनि आचार संहिता विपरीत हुने उनको भनाइ छ । साथै जस्तो सुकै आरोप लगाए पनि धैर्यतासाथ जवाफ दिन उनले सुझाएकी छन् ।

‘आरोप लगाए पछि दोषी भए कारबाही भोग्न तयार हुन्छु भन्न सक्नु पर्छ । कसैलाई अपमानित हुने शब्द बोल्न भएन आवेगमा आएर उम्मेदवारले होस या प्रश्न कर्ताले,’ उनले भनेकी छन्, ‘प्रश्नकर्ता महिला माथि केशव स्थापितले बोलेका शब्दमा मेरो पनि आपत्ति छ । उहाँले माफी माग्नु पर्छ ।’

उनले थपेकी छन्, ‘तर यस्ता चुनावी बहसमा आरोप माथि भन्दा पनि उम्मेदवारलाई उसका प्रतिबद्धता सोधिन्छ, बहसमा विषयगत प्रश्न नै सोधिन्छ । यसमा निर्वाचन आयोगको ध्यान जाओस् ।आचारसंहिताको पालना उम्मेदवारले पनि गरौँ, सबैले गरौँ !’