यौन दुराचारको प्रश्न गर्दा आक्रोशित भए स्थापित , तथानाम बोल्दै कार्यक्रमबाट उठे
काठमाडौं- यौन दुराचारको आरोप लागेका एमाले नेता केशव स्थापित एक कार्यक्रममा आक्रोशित बनेका छन् । कार्यक्रममा सहभागीहरूले उनलाई एकपछि अर्को प्रश्न सोध्न थालेपछि स्थापित आक्रोशित बन्दै कार्यक्रमबाट उठेका थिए ।
अघिल्लो पल्ट काठमाडौंको मेयर हुँदा दुईजना महिलामाथि यौन हिंसा आरोपले लामो समयदेखि पछ्याइरहेको अवस्थामा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार बनेका स्थापित कार्यक्रममा सहभागीहरूलाई तथानाम बोलेका थिए ।
राजधानीमा बिहीबार गरिएको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई महिलामाथि हिंसाबारे केही सहभागीले प्रश्न गरेका थिए। अन्तरक्रियाका कार्यक्रमकी प्रस्तोता भावना राउतले मीटू आरोपबारे सोधेकी थिइन्। त्यसपछि स्थापित आक्रोशित हुँदै मञ्चबाट उठेका थिए।
उनले आफूमाथि आरोप लगाउनेहरुले कानुनी उपचार नखोजेकोमा पनि आपत्ति प्रकट गरे। ‘ममाथिको आरोप गलत भएको प्रमाणित गरेरै छाड्छु म। यदि आरोपित गर्दै जाने हो भने कसरी सकिन्छ? आरोप लगाउनेहरुले ममाथि कानुनी चुनौती दिए हुने नि! उनीहरुले कानुनी उपचार किन खोज्दैनन्? जे पायो त्यही आरोप लगाइदिने?’ उनले भने।
सवाल जवाफका क्रममा वातावरण गर्मिएपछि उनले प्रश्नकर्तामाथि आक्रोश पोखे। उनले मञ्चबाट उठेर भने, ‘तपाईंको फेस नाइस छ, तर थुतुनो ठीक छैन।’
त्यसअघि राउतले ‘निर्दोष छु भनेर कि प्रमाणित गर्नुस्, प्रमाणित गर्न नसक्ने भए यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र?’, भनेर सोधेकी थिइन्।
सहभागी एकजना पुरुषले पनि स्थापितमाथि प्रश्न उठाए। आरोप लागिसकेपछि त्यसलाई कि गलत पुष्टि गर्न होइन भने सार्वजनिक पद नताक्न उनले स्थापितलाई चुनौती दिए।
२०५४ सालमा काठमाडौं महानगरपालिका प्रमुख भएका उनीमाथि पूर्वकर्मचारी महिलामाथि नै यौन हिंसा गरेको आरोप छ।