चर्चामा तीन युवा: काठमाडौंमा बालेन, बनेपामा राजानन्द र लुम्बिनीमा अर्जुन
काठमाडौं- यो पटकको स्थानीय निर्वाचन पहिले भन्दा केही फरक हुने देखिएको छ । ठुला दलका ‘हेवीवेट’ उम्मेदवारको भन्दा विभिन्न ठाउँबाट स्वतन्त्र उम्मेदवारहरूका मुद्दाले मतदाताको मन तानेको देखिएको छ । स्थानीय तहको पहिलो पाँच वर्ष सकिँदैगर्दा मतदाताले दलभन्दा बाहिर र राजनीतिभन्दा टाढा र उमेर र सोंचले युवाहरू नेतृत्वमा आउनुपर्ने महसुस गरेकाले पनि युवा र स्वतन्त्रको चर्चा बढी छ ।
सामाजिक सञ्जाललाई आधार मान्नेहो भने यो पटक मतदाताको मन र मत दुवै फेरिने र स्थानीय तहको नेतृत्वमा फरक र युवा अनुहार देखिने आंकलन गर्न सकिन्छ । यसपाली देशैभर केही युवाहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । युवाहरू नेतृत्वमा आउन खोजेपछि मतदाता पनि हौसिएको देखिन्छ ।
स्वतन्त्र उम्मेदवारी दिने मध्यका धेरैजसो युवाहरू केहि न केहि हिसावले सामाजिक कार्यमा खटिएका सामाजिक अभियन्ता छन् । देशैभर स्वतन्त्र उठेका मध्य काठमाडौं महानगरपालिकाबाट बालेन शाह, बनेपा नगरपालिकाबाट राजानन्द माण्डव्य र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट अर्जुन कुर्मी यतिबेला बढी चर्चामा छन् । बालेन पेशाले इन्जिनियर हुन् । बालेन गायक पनि हुन् । बनेपा नगरपालिकाका माण्डव्य र लुम्बिनी सांस्कृतिक नगरपालिकाका कुर्मी दुवै सामाजिक अभियन्ता हुन् । उनीहरूले फरक फरक विधामा अभियान चलाएपनि आ-आफ्ना क्षेत्रमा राम्रो पहिचान बनाएका छन् ।
बालेन शाह
काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले नयाँ पुस्ताको मुद्दा उठाएका छन् । देशकै राजधानी समेत रहेको काठमाडौं दलहरूको राजनीति गर्ने थलो मात्रै बनेकोमा उनको चिन्ता छ । यस्तै भैरह्यो भने काठमाडौंका जनताले अझै दुख पाउने चिन्ताले सताएर आफू मेयरमा उठेको उनले बताउने गरेका छन् । बालेनले अब पनि पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताउने गरेका छन् ।
अहिले उनको चुनावी अभियान र घोषणापत्रको सामाजिक सञ्जालमा ब्यापक चर्चा छ । बालेन शाहले विभिन्न क्षेत्रका कन्सल्ट्यान्ट, विज्ञहरुसँग छलफल गरेर आफू मैदानमा आएको बताउने गरेका छन् । शिक्षा, स्वास्थ्य, यातायात, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन सबैका विज्ञहरुसँग छलफल गरेर आफूहरू चुनावमा होमिएको बताउने गरेका छन् । चुनावी अभियानमा काठमाडौं महानगरकै कैयौँ युवाहरूले बालेनको क्याम्पेन सम्हालेका छन् । काठमाडौंकै बासिन्दा भएकाले स्थानीयले पनि उनलाई सहयोग गरिरहेका छन् ।
राजानन्द माण्डव्य
यस्तै माण्डव्य राष्ट्रिय पोशाक र धरोहर संरक्षण अभियानका अभियन्ता हुन् । उनले लामो समयदेखि राष्ट्रिय पोशाक बचाउने अभियान चलाएका छन् । त्यतिमात्रै होइन उनले देशका धरोहरहरूको संरक्षणका लागि अर्को अभियान थालेका छन् । उनले स्मार्टपालिका मार्फत देशका कैयौँ पालिकाहरूमालाई अमार्ट बनाएका छन् । इ-पेमेन्ट र इ-गभर्नेन्सको पाटोमा काम गरिसकेका उनी नगरपालिकालाई नमूना बनाउने बताउँछन् । आफ्नो क्षेत्रमा दलहरूले ठुलाठुला गफ गर्ने काम भने केहि नभएकाले आफू नेतृत्व लिन होमिएको उनले बताउने गरेका छन् । उनले आफ्नो पालिकामा अहिले पनि पानीको समस्या, रोजगारीको समस्या, सडक, शिक्षा, स्वास्थ्य जस्ता साना साना समस्याले जनता आजिद भएको उनी बताउँछन् ।
उनले पनि विभिन्न स्खेत्रका विज्ञहरूसँग परामर्श गरेर उनीहरूको सुझाव अनुसार नगरलाई फरक र सम्पन्न बनाउने योजना बनाएका छन् । उनलाई चुनावी अभियानमा स्थानीय युवाहरूले सहयोग गरिरहेका छन् भने उनकै भाई श्याम बजागाईंले चुनावी क्याम्पेन सम्हालेका छन् । श्याम आफै सफल व्यबसायी हुन् । उनले नै बनेपाको मेयरमा उठ्नका लागि माण्डव्यलाई आग्रह गरेका थिए ।
अर्जुन कुर्मी
त्यस्तै अर्को चर्चाको नाम हो अर्जुन कुर्मी, लुम्बिनी क्षेत्रमा उनको नाम नसुनेको कमै युवहरू छन् । युवाहरूमाझ निकै लोकप्रिय कुर्मीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कुर्मी पर्यावरण, बन्यजन्तु संरक्षण र पर्यटन प्रवर्दन अभियानमा लामो समयदेखि खटिएका अभियन्ता हुन् ।
गौतम बुद्ध जन्मिएको प्रसिद्ध स्थानमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै सबैभन्दा ठुलो मध्यको एक पर्यटकीय स्थल हो । कुर्मीले यहाँको पर्यटन प्रवर्दनमा अब फरक अभियान चलाउनुपर्ने बताउँछन् । स्वास्थ्य र शिक्षा फ्री, जेष्ठ नागरिकको लागि घरमै स्वास्थ्यकर्मी पठाउने, युवाहरू रोजगारी, एक घर एक उद्यमी, युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान, कृषकको लागि किसान कार्डमार्फत बिउबीजन, सिंचाईको लागि नहर, फ्री वाईफाई जोन, विद्यालय स्तरोन्नती, अंग्रेजीमा पढाइ, खुला ब्यायम स्थल, रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फ्री, किशोरीको पढाईको लागि प्राविधिक विद्यालय, स्वास्थ्यकर्मी र स्व्यंसेविकालाई सेवा सुबिधा बढाउने, होम स्टे संचालन, लुम्बिनीलाई ग्रीन र क्लीन सिटी बनाउने, लुम्बिनीमा अन्तरास्ट्रिय लगानी भित्र्याउने, घातक रोगको लागि निशुल्क स्वास्थ्य सेवा दिने, कालिदा भन्सारलाई ठूलो भंसार बनाउने लगायतका एजेण्डा लिएर उनले चुनावी अभियान थालेका छन् ।
लुम्बिनीका स्थानीय तथा युवाहरूले कुर्मी आफै भिजन भएका युवा भएकाले काम गर्न सक्ने बताउने गरेका छन् । केहि युवाहरूले त उनलाई मेयर पदमै उठ्नका लागि अभियान चलाएका थिए ।
उनका बाबु गंगाराम कुर्मी लामो समयदेखि राजनीति र समाजसेवा गरेका व्यक्ति हुन् । अर्जुनलाई चुनावमा होमिनको लागि उनकै बाबु गंगारामले हौसाएका हुन् । गंगाराम आफै नउठेर युवालाई अगाडी सारेकोमा पनि युवाहरू उत्साही बनेका छन् ।