कांग्रेसका चार उम्मेदवार निर्विरोध निर्वाचित, एमाले र माओवादेले पनि खाता खोले
बेसीसहर- मनोनयनकै दिन नेपाली कांग्रेसले खाता खोलेको छ । त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि खाता खोलेका छन् । मनोनयनकै दिन निर्विरोध निर्वाचित बनेर उनीहरूले खाता खोलेका हुन् ।
हिमाली जिल्ला मनाङका केही वडामा अध्यक्ष र सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। ४ गाउँपालिका रहेको यहाँ नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेद्वारहरु निर्वाचित भएका हुन्।
मनाङको चामे गाउँपालिकाको वडा नं. १ र २ का वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्। सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्।
यस्तै वडा नं. २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बनेका छन्।
यस्तै नासो गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा नं. ५ को वडाअध्यक्षमा थुतेन लामा, वडा नं. ६ को वडाअध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नं. ७ को वडाअध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध निर्बाचित भएका छन्।
निस्याङ गाउँपालिकाको वडा नं. ३ को वडाअध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङ वडाअध्यक्षमा निर्विरोध भएका छन्। सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरी स्वतन्त्रबाट निर्विरोध भएका छन्।
मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए।