युवा र कलाकारको 'ह्यासट्याग': 'भोट फर चेन्ज, भोट फर बालेन' - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

युवा र कलाकारको ‘ह्यासट्याग’: ‘भोट फर चेन्ज, भोट फर बालेन’



काठमाडौं । संघीयतापछिको दोस्रो स्थानीय निर्वाचनको चहलपहल बढ्दो छ । वैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि तोकिएको छ । काठमाडौं महानगरपालिकासहित देशैभर ठुलो संख्यामा स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।

यसपटकको निर्वाचनमा स्वतन्त्रबाट उमेदवारी दिनेहरूको संख्या उल्लेख्य मात्रामा बढेको देखिएको छ । विशेषगरी युवाहरूले स्वतन्त्र रूपमा उमेदवारी दिएका छन् ।

स्वतन्त्रबाट उमेदवारी दिने युवाहरूमध्ये र्‍यापर तथा इन्जिनियर बालेन शाहको विशेष चर्चा छ । शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवारी दिएका छन् ।

बालेनले उमेदवारी दर्ता गराएर घोषणापत्र सार्वजनिक गरेसँगै युवादेखि कलाकारहरू उनको समर्थनमा देखिएका छन् । हुन त शाहले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेदेखि नै उनीप्रति युवाहरू सकारात्मक थिए ।

कला क्षेत्रको प्रतिनिधित्व गरेर उमेदवारी दिएका उनले घोषणापत्रमा संगीत, कला र फिल्मबाट काठमाडौंको ब्रान्डिङ गर्ने बताएका छन् ।

नेपालमा हरेक निर्वाचनमा राजनीतिक दलको दबदबा रहने गर्छ । तर, यसपटकको अवस्था भने केही फरक छ । स्वतन्त्रबाट उमेदवारी दिनेहरूले पनि राम्रो जनसमर्थन पाइरहेका छन् ।

बालेनलाई त युवादेखि बुद्धिजीवीसहित कलाकाहरूको राम्रो समर्थन छ । अपवादबाहेक अधिकाशं कलाकाहरूले बालेन समर्थन मात्र गरेका छैनन् खुलेरै मत मागिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा ‘ह्यासट्याग भोट फर बालेन शाह’ अभियान नै चलाइरहेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले बालेन उमेदवारी दिन जाँदाको फोटो र घोषणापत्रको सारांश सेयर गर्दै ‘ह्यासट्याग भोट फर बालेन शाह’ भनेर लेखेकी छन् । स्वस्तिमाको पोस्टमा थुप्रै युवाहरूले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।

त्यस्तै गायक स्वप्निल शर्माले पनि बालेनलाई भोट दिन आग्रह गरेका छन् । उनले लेखेका छन्, “खराब राजनीति जित्नका लागि भए पनि राजनीतिज्ञ बन्नुपर्दछ । उनी हामीजस्तै निराश नेपाली युवा हुन् जसले देखेका छन्, भोगेका छन् र अहिले दृश्य परिवर्तन गर्न खोजिरहेका छन् । नेतृत्व भनेको पद मात्र होइन, यो त मनोविज्ञान हो । हामीलाई राम्रो नेतृत्वको खाँचो छ र मलाई विश्वास छ । हाम्रा लागि तुरूपको एक्का हुन सक्छन् । यो हाम्रो नयाँ सुरुवात हुन सक्छ । हाम्रो भोट उनका लागि प्रेरणा अनि खबरदारी पनि हो ।”

अभिनेत्री प्रियंका कार्कीले पनि ‘ह्यासट्याग भोट फर बालेन शाह’ अभियानलाई समर्थनस्वरूप बालेनको घोषणापत्रको सारांश सेयर गरेकी छन् । उनले ‘भोट फर चेन्ज’ भनेर मत दिन आह्वान गरेकी छन् ।

अभिनेत्री सुरक्षा पन्तले स्वतन्त्रबाट उमेदवारी दिनेहरूलाई लडे पनि नआत्तिन आग्रह गर्दै शुभकामना दिएकी छन् । “स्वतन्त्र उमेदवारी दिने सबै युवाहरूलाई चुनावी छलाङका लागि मनदैखि शुभकामना । तपाईंहरूको आँटका लागि एउटा कलाकारको तर्फबाट नमन । पटकपटक लड्नु होला, नआँत्तिनु है । परिवर्तन चाहनेले जित मात्र खोज्दैन, जित मात्र खोज्दैन्, जित मात्रै खोज्नेले परिवर्तन चाहदैन । यो अभियान नै हो । साझा अभियान,” पन्तले लेखेकी छन् ।

कलाकार निर्मल शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल फोटो नै ‘बालेन फर मेयर’ भन्ने लेखिएको बालेनको स्केच भएको फोटो राखेका छन् । आइतबार बालेनले मनोनयन दर्ता गराएसँगै उनीसँगको फोटो सेयर गरेर ‘अब देश बनाउन पार्टीको टिकट होइन, भिजन भएको युथ नै चाहिन्छ’ भन्दै क्याप्सन दिएका छन् ।

निर्देशक प्रदीप भट्टराईले बालेनको इमान्दारिता र भिजनको तारिफ गरेका छन् । उनी भन्छन्, “हामीले छान्ने हरेक उमेदवार चाहे ऊ स्वतन्त्र होस् या कुनै दलको व्यक्तिगत रूपमा यतिको जिम्मेवार, इमान्दार अनि स्पष्ट हुनैपर्छ ।”

र्‍यापर तथा पूर्व समाचारवाचक सुदिन पोखरेलले पनि बालेनको भिजनलाई समर्थन गर्दै शाहलाई भोट दिन आग्रह गरेका छन् ।

उनले दीपेश वाग्लेको ट्विट कपी गर्दै बालेनेको समर्थन गरेको छन् । जसमा भनिएको छ, “यदि बालेनले जितेन भने यहाँ प्रदूषण, ट्राफिक जाम, वायुप्रदुषण र काठमाडौंको अव्यवस्थित शैलीबारे कोही पनि बोल्ने छैन । काठमाडौंले योपटक योग्य विकल्प पाएको छ । कृपया यो मौकाको फाइदा उठाउनुहोस् । ऊसँग स्पष्ट भिजन छ । सबै तपाईंको हातमा छ ।”

अर्का निर्देशक सन्तोष सेन पनि बालेनलाई समर्थन गर्दै लेख्छन्, “दुरदर्शी, विकास र परिवर्तन त्यो पनि सम्बन्धित कामप्रति गहिराइसम्मको जानकारी, स्मार्ट सिटीको दुरदृष्टि काठमाडौं महानगरपालिकाको आजको आवश्यकता बालेन शाह…हामीले मात्र बुझेर हुँदैन हाम्रा अभिभावकलाई पनि बुझाउनु जरुरी छ…। एकचोटि सबैले भोट गरौँ…बालेन शाह ।”