माधव नेपालले भने: गठबन्धनबाटै हामीमाथि अन्याय भयो, बाहिरिन सक्छौँ
काठमाडौं– नेकपा एकीकृत समाजवादीले गठबन्धनका अन्य दलहरूले आफूहरूमाथि अन्याय गरेको बताएको छ । गठबन्धन गरेर जाने सहमति भए पनि विभिन्न ठाउँमा आफ्नो पार्टीमाथि अन्याय भएको भन्दै पाँच दलीय गठबन्धनको बैठकमा अध्यक्ष माधव नेपालले गुनासो गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरू बैठकमा नेकपा यसका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले आपत्ति नै जनाएको बताइएको छ। नेता खनालले बैठकमा गठबन्धनका नाममा आफ्नो पार्टीमाथि अन्याय भएको भन्दै प्रष्ट बताएको पुष्टि गरेका छन्।
गठबन्धन गर्ने भनीएपनि विभिन्न ठाउँमा आफ्नो पार्टीलाई अन्याय गरिएको भन्दै नेपाल र खनालले आफ्नो पार्टीमाथि अन्याय भए पनि जनता समक्ष जाने र जनताको मन जित्ने प्रष्ट पारेका थिए ।
बैठकमा उनीहरूले नेकपा एकीकृत समाजवादी अरुको भरोसा गरेर बस्ने पार्टी नभएकाले जनताको साथ लिएर अगाडि बढ्ने बताएका थिए । नेपाल र खनालले त्यस्तो भएको खण्डमा आफूहरू गठबन्धनबाट बाहिरिने चेतावनी समेत दिएको बताइएको छ ।
केन्द्रमा शीर्ष नेताहरुबीच तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको थियो। सोही अनुसार महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धनले सिट बाँडफाँड गरेका थिए। तर, जिल्ला तहमा भने कतिपय स्थानमा गठबन्धन दलमा रहेको नेकपा एकीकृत समाजवादीलाई कुनै पनि स्थानीय तहमा उम्मेदवार बनाइएको छैन।
तल्लो तहमा कतै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल भएको छ भने कतिपय ठाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ।