लिङ्देनको क्षेत्रमा कांग्रेस–एमालेको गठबन्धन
एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकामा भने एमाले र कांग्रेसले राप्रपाविरुद्ध तालमेल गरेका छन् ।
पटक–पटकको वार्ता र संवादपछि राप्रपाविरुद्ध एमालेसँग मिलेर जाने सहमति जुटेको कांग्रेस कचनकवलका गाउँ सभापति तुलाराम अधिकारीले जानकारी दिए । रापप्राको बलियो पकड रहेको यो पालिकामा यी दुई दलले गठबन्धन गरे राप्रपा पराजित हुने निश्चित छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाध्यक्ष र सदस्य जितेको थियो । यसपटक पनि जित दोहोऱ्याउने मनस्थितिमा रहेको राप्रपाविरुद्ध केन्द्रमै एमाले–कांग्रेसबीच गठजोडका लागि सहमति भएको श्रोतको दाबी छ ।
अध्यक्षमा कांग्रेसका कालेन्द्रसिंह राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्दैछन् । राजवंशी २०७४ को चुनावमा राप्रपाका अञ्जार आलमसँग पराजित भएका थिए ।
राप्रपाले आलम र उपाध्यक्ष निमसरी राजबंशीलाई पुन: दोहोऱ्याउने निर्णय गरेको छ । नेपालकै होचो भूभाग कचनकवलमा मुस्लिम र आदिवासी समुदायको बाहुल्यता छ ।