गगन थापाले स्विकारे तीन गल्ती - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

गगन थापाले स्विकारे तीन गल्ती



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनका लागि ल्याइएको संकल्प प्रस्तावलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेर्न नमिल्ने बताएका छन्।

स्थानीय तह निर्वाचनका लागि आइतवार संकल्प प्रस्ताव सार्वजनिक गरेपछि थापाले यसो भनेका हुन्।

यो घोषणापत्रलाई आसन्न दुई निर्वाचनसँग छुट्याएर हेर्न मिल्दैन। यो पटक पाँच वर्षको मूल्याकन गरौं, अब के गर्ने हेरौँ भनेर सुरू गरेका हौँ’, उनले भने, ‘पाँच वर्षमा हामीले समुन्नत नेपालको कुरा उठाएका छौं। पाँच वर्ष जिम्मा पाए केके गर्छौँ भन्ने लेखेका छौँ।’

उनले पार्टीका योजना र तथ्यको मिलान गर्न खोजेको पनि बताए। घोषणा पत्रमा समावेश ११ वटा मुद्दा सबै स्थानीय तहमा लागू हुने उनले बताएका छन्।

साना साना विषयमा काम नगर्ने, जुन स्थानीय तहको जिम्मेवार होइन, त्यो सोचेर पाँच वर्ष बितायौँ’, उनले भने, ‘साधन स्रोतको व्यवस्थापन र करबारे बुझाउन खोजेका छौं। सामाजिक सुरक्षा र न्यायको कुरा राखेका छौं। समाज रूपान्तरणको नायक हो। स्थानीय सरकार भनेर हामीले स्थापित गर्न खोजेका छौं।’

उनले कांग्रेसले अब अनुत्पादक क्षेत्रमा जस्तै भ्यूटावरमा लगानी नगर्ने बताएका छन्। ‘लहडको आधारमा लगानी हुँदैन। यसको परिपालनाका विषयमा प्रश्न आउँछ’, उनले भने, ‘मेयर सा’व, उपमेयर सा’व भन्ने हुन्छ र टेर्न छोड्छ भन्ने छ। हामीले मेयर सा’व भन्ने विषय नै हटाउने भनेर लेखेका छौं।’

उनले निर्वाचित जनप्रतिनिधिलाई घोषणापत्र अनुसार तालिम दिने पनि बताए। ‘एक वर्षपछि म्याट्रिक्स अनुसार जवाफदेही बनाउँछौं’, उनले भने, ‘पार्टीको चुनाव चिह्नबाट लडेपछि जवाफदेही बन्नुपर्छ।’

थापाले अघिल्लो घोषणापत्र अनुसार कांग्रेस तीन कुरामा चुकेको बताए। ‘स्थानीय सरकारले गर्ने कामभन्दा पनि माथिबाटै गर्ने काम भयो। दोस्रो, हामीले घोषणापत्रनुसार जनप्रतिनिधिलाई बाँध्न सकेनौं। त्यहाँ फेल भयौं’, उनले भने, ‘तेस्रो, खास स्थानीय तहले गर्ने काम छुट्याउन सकेनौँ।’

उनले यो पटक घोषणापत्रमा यी गल्ती हुन नदिन लामो छलफल गरेको बताएका छन्। ‘यो पटक हामीले कमजोरी हटाउन खोजेको छौँ’, उनले भने, ‘आउँदो साल हामी रिपोर्ट कार्ड बनाउन सक्छौं।’