पोखरा एमालेमा तनाब: मन्जुले अस्वीकार गरिन् पार्टीले दिएको टिकट - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

पोखरा एमालेमा तनाब: मन्जुले अस्वीकार गरिन् पार्टीले दिएको टिकट



काठमाडौं- नेकपा एमालेबाट पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गरेकी छन्। उनले पार्टीले गरेको सिफारिस अस्विकार गरेकी हुन् ।

पार्टीले आफूलाई नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त पदमा रुचि नभएको बताएकी छन्।
मन्जु पोखराको बहालवाला उपमेयर हुन्। पार्टीको आन्तरिक प्रतिस्पर्धामा उनी मेयर उठ्ने चर्चा थियो।

तर,उनी प्रतिस्पर्धाबाट अलग भइन्। पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई प्रदेश कमिटीले अन्य १२ जनासँगै नाम थपेर पठाउने चर्चा चलेको थियो।

तर,त्यसो गरिएन। प्रमुखमा पूर्वशिक्षक दीपक पौडेललाई उम्मेदवार बनाउँदा मन्जुको नाम उपमेयरको रुपमा घोषणा गरियो।

‘मेरो उपमेयरमा चाहना पनि छैन, मलाई पार्टीले आधिकारिक जानकारी गराएको पनि छैन’, उनले भनिन्, ‘जानकारी आउँदा म मेरो कुरा राख्छु।’

मन्जुले उपमेयर अस्वीकार गरेसँगै कास्की एमालेमा खलबली मच्चिएको छ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको गुटबीच देखिएको कटुता उम्मेदवारी प्रकरणमा पनि प्रकट भएको छ।