यी हुन् कांग्रेसबाट महानगर र उपमहानगरमा छनौट हुने उम्मेदवारहरू
काठमाडौं । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार छनौट गर्न नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेबाट सुरु भएको हो ।
सत्ता गठबन्धनभित्र चुनावी तालमेलका क्रममा काँग्रेसका भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने छ ।
भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा काँग्रेसले गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । जसमा काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने सहमति भइसकेको छ ।
काँग्रेसको महानगर समितिले निलकाजी शाक्य, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो । सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार पाँच जना मध्ये सिर्जनाको नाममा सहमति भएको हो । यस्तै विराटनगरको मेयरका लागि भीम पराजुली, डीला संग्रौला, अमृत अर्याल र नागेश कोइरालाको नाममाथि छलफल केन्द्रित छ ।
तीन वटा उपमहानगरपालिकाको उपमेयरका लागि पनि काँग्रेसमा हानथाप चलिरहेको छ । गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रले मेयर पाएको भरतपुर महागरपालिकामा काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने छ ।
काँग्रेसले भरतपुरको उपमेयर दीर्घमान श्रेष्ठ र चित्रसेन अधिकारी मध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ । यस्तै पोखरा महानरपालिकाको उपमेयरमा कोकिला राना भाटको सम्भावना बढी रहेको बुझिन्छ । पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि काँग्रेसले महिलालाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।
सहमहामन्त्री महेन्द्र यादवका अनुसार विरगञ्ज महानगरपालिकाको उपमेयरमा काँग्रेसबाट आकांक्षीको नाम शुक्रबार साँझ मात्र पठाइएको छ । विरगञ्जमा गठबन्धनबाट जसपाले मेयर पाएपछि काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमित भएको छ ।