ठूला शहरमा रेल, ठुला नदीमा जहाज चलाउने एमालेको घोषणा - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

ठूला शहरमा रेल, ठुला नदीमा जहाज चलाउने एमालेको घोषणा



काठमाण्डौं- स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

नेकपा स्थापना दिवसको अवसर पारेर शुक्रबार ललितपुरको च्यासलस्थित नयाँ कार्यालय भवनमा एक समारोहबीच चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। एमालेको घोषणामा यसअघिका योजनालाई निरन्तरता दिइएको छ।

एमालेले ठूला शहरमा रेल र ठूला नदीमा जल यातायात सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला शहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिट लगायत यातायात प्रणालीको विकास गर्ने। ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने।’

सहज आवागमन, अर्थतन्त्रलाई गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधार विकास गर्ने एमालेको योजना छ। जसमा सडक, हवाई, जल, केबलकार र रोपवे, दूरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने उल्लेख गरिएको छ।