देउवाकै गृह जिल्ला डडेलधुराबाट भाँडियो गठबन्धन
धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको डडेलधुरामा गठबन्धन गर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि बढ्ने र त्यसको फाइदा एमालेलाई हुने निष्कर्षसहित दलहरुले गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।
दलहरुले यस्तो निर्णय गरेपनि जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि गठबन्धन हुन नसकेको हो । परशुराम नगरपालिका जिल्लाको सबैभन्दा बढी मतदाता भएको नगरपालिका हो । कांग्रेसका जिल्ला सभापति नगर प्रमुख रहेको यो नगरपालिकामा माओवादी र कांग्रेसले आफ्नो अडान नछोडेपछि गठबन्धन नगर्ने निर्णय गरिएको हो । गत स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिका कांग्रेसले जितेको हो । माओवादीले थोरै मतले परशुराम नगरपालिकामा निर्वाचन हारेको थियो ।
परशुराम नगरपालिका २८ हजारभन्दा बढी मतदाता रहेका छन् । गत निर्वाचनमा कांग्रेसका भिमबहादुर साउँदले माओवादी उम्मेदवार शेरसिंह मालसँग २५१ मतले निर्वाचन जितेका थिए । संसदीय र प्रदेशको निर्वाचनलाई लक्षित गरेर यो नगरपालिका कांग्रेस माओवादी दुवैले न छोडेका हुन् । पहाडी क्षेत्रका ३ स्थानीय तहभन्दा बढी मतदाता परशुराम नगरपालिकामा छन् ।
डडेलधुरामा कांग्रेसभित्र गत अधिवेशनदेखि असन्तुष्ट रहेको एउटा समूहले पनि सातवटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको छ । क्रियाशील सदस्यता विवादका कारण तत्कालीन सभापति कर्ण मल्लको समूहले अधिवेशन बहिष्कार गरेको थियो ।