भारतमा मोदीको विरोध गर्ने सांसद पक्राउ - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

भारतमा मोदीको विरोध गर्ने सांसद पक्राउ



काठमाडौं- भारतमा गुजरात विधान सभाका एक जना सांसदलाई पक्राउ गरेर उत्तरपूर्वी राज्य असम पुर्‍याइएको छ।

द हिन्दुका अनुसार गुजरातका विधान सभा सदस्य एंव दलित अधिकार अभियन्ता जिगनेस मेवानीलाई असम प्रहरीले गुजरात पुगेर बुधबार राति पक्राउ गरेको थियो। केही दिनअघि मेवानीले मोदीको आलोचना गर्दै उनले महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई भगवान मान्ने गरेको ट्विट गरेका थिए।

उक्त ट्विटपछि ट्विटरले नै हटाइदिएको थियो। मेवानीको उक्त ट्विटपछि असममा भाजपाका कार्यकर्ताले उनीविरूद्ध सामाजिक सद्भाव भड्काएको भन्दै प्रहरी उजुरी दिएका थिए।

उनलाई बुधबार राति साढे ११ बजे पक्राउ गरी बिहीबार बिहान जहाजबाट असम ल्याइएको बताइएको छ।

मेवानी २०१७ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर विधान सभा सदस्य भएका थिए। पछि उनले भारतीय कंग्रेसलाई समर्थन गरेका थिए। यही वर्षको अन्त्यमा हुने विधान सभा चुनावमा उनी कंग्रेसबाट चुनाव लड्ने तयारीमा थिए।

मेवानी पक्राउ परेपछि कंग्रेस आईका नेता राहुल गान्धीले उनको गिरफ्तारी असंवैधानिक भएको बताएका छन्।

गान्धीले ट्विट गर्दै भनेका छन्- मोदीजी, तपाईं राज्य शक्तिको दुरूपयोग गरेर आलोचकलाई दबाउन सक्नुहोला तर कहिल्यै पनि सत्यलाई थुन्न सक्नुहुन्न।

यसैबीच आसामको एक अदालतले मेवानीले धरौटीमा रिहा हुन दिएको निवेदन अस्वीकार गरिदिएको छ। बिहीबार अदालतले उनलाई धरौटीमा रिहा हुने निवेदन अस्वीकार गर्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।