रेशम चौधरीको पक्षमा खुले प्रचण्ड - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

रेशम चौधरीको पक्षमा खुले प्रचण्ड



धनगढी- कैलाली पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई निर्दोष भएको बताएका छन् ।

एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष हादालले भने रेशम निर्दोष रहेको बताएका छन् ।

माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’

स्थानीय तह निर्वाचनको मुखमा दाहाले रेशम निर्दोष रहेको भन्दै थारु मतदातालाई प्रभावित पार्न खोजेका हुन् । तर माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिनासम्म पनि सो विषयमा मौन छ ।

अध्यक्ष दाहालले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्,’ अध्यक्ष दाहालले भने, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिवेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु ।’

बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै दाहालले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए । उनले टिकापुर घटनाले ठूलो असर पारेको बताए।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा टिकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको लाल आयोग को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।