अर्घाखाँचीमा जनमोर्चालाई एमालेको अफर- ‘गठबन्धन तोडे सन्धिखर्कको मेयर दिन्छौँ’
सन्धिखर्क- अर्घाखाँची जिल्लामा नेकपा एमालेले ५ दलिय गठबन्धन तोडिएमा राष्ट्रिय जनमोर्चालाई सन्धिखर्क नगरपालिकाको मेयर पद दिनेसम्मको अफर गरेको छ । अर्घाखाँचीमा ५ दलिय गठबन्धनको दोस्रो ठुलो दल राष्ट्रिय जनमोर्चाले गठबन्धन तोडी आफुलाई सघाए सन्धिखर्क नगरपालिकाको मेयर पद दिनेसम्मको अफर गरेको हो ।
एमाले जिल्ला कमिटीका एक सदस्यले नाम नलेख्ने सर्तमा भने, ‘राष्ट्रिय जनमोर्चाले गठबन्धन तोडी आफुलाई सघाए सन्धिखर्क नगरपालिकाको मेयर पद दिन सकिन्छ। भूमिकास्थान नगरपालिकामा भने माओवादी केन्द्रबाट आएका मेयर रेशम थापालाई नै दिने सर्तमा सहमती गर्न सकिन्छ ।’
उनले भने, ‘२ भूमिकास्थान रेशम ज्यु माओवादी पार्टी नै छोडेर एमालेमा हुनुहुन्छ, उहाको त्याग छ । भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाको जनमत राम्रो छ, मेयरका साथै ढिकुरा, धनचौर वार्ड एमालेलाई, अरु उपमेयर र बाँकी सबै वार्ड दिन सकिन्छ । सन्धिखर्कमा मेयर सहित वार्ड २, किमडाँडा ८, वार्ड ७ खाँचीकोट र मालारानीमा उपप्रमुख र हंसपुर दिन सकिन्छ ।’
‘यसको बारेमा अहिलेसम्म राष्ट्रिय जनमोर्चासँग कुनै कुरा छलफल नभएको तर जिल्लाभर एमालेलाई सघाए हामीले पनि सन्धिखर्कको मेयर पदसम्म दिन सकिन्छ, अरु पार्टीका कुरा के गर्ने माओवादी केन्द्रका टोप बहादुर, चन्द्र बहादुर सबै जनमत हामीसँग नै हुनुहुन्छ, एकीकृत समाजवादी भन्नेमा २,४ जना त हुन्, उनले भने।’
उता जिल्लामा ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखे पनि अहिलेसम्म सहमतीमा पुग्न सकेका छैनन् । राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरपालिकामा मेयर, सन्धिखर्कमा उपमेयर र मालारानीमा उपप्रमुख दावी गर्दै आएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।