भरतपुर महानगरका लागि विश्वप्रकाशले ल्याए नयाँ प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका विषयमा पार्टीभित्र नयाँ प्रस्ताव अगाडि सारेका छन् ।
शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले ‘नयाँ र तेस्रो विकल्प’ भन्दै ‘मित्रवत् प्रतिस्पर्धा’को प्रस्ताव गरेका हुन् ।
०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले भरतपुर महानगर नेकपा (माओवादी) केन्द्रलाई छाडेको भन्दै योपटक माओवादीले कांग्रेसलाई सघाउनुपर्ने पार्टीका नेता-कार्यकर्ताहरूको मत रहेको उनले बताए । त्यसो हुन नसकेमा नयाँ र तेस्रो विकल्पमा जानुपर्नेमा उनले जोड दिए ।
“नयाँ र तेस्रो विकल्प भनेको दुवैले नछाड्ने अर्थात् मित्रवत् प्रतिस्पर्धा,” उनले बैठकमा भनेका थिए ।
देशभर एक्लै लड्नुपर्छ भन्नेमा आफू रहे पनि पार्टीको निर्णय स्वीकार गरेर अघि बढेको उनले बताए । “स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ– भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धा,” उनले भने ।