माधव नेपालले गरे गठबन्धन टुट्न लागेको संकेत
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका दललाई आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न चुनौती दिएका छन् । गठबन्धनकै दलहरूलाई चेतावनी दिएर अध्यक्ष नेपालले गठबन्धनमा खटपट भएको संकेत गरेका छन् ।
गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीकानेताहरूले स्थानीय चुनावमा एकीकृत समाजवादीले हैसियतभन्दा बढी दाबी गरेको र गठबन्धन टुट्न लागेको टिप्पणीपछि अध्यक्ष नेपालले आफूलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन् ।
शनिबार आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले आफूहरूमाथि अपमानपूर्ण व्यवहार नगर्न चेतावनी दिएका छन् । आफूहरूकै कारण केपी ओली सत्ताबाट भुइँमा पछारिएको भन्दै अध्यक्ष नेपालले कम नआक्न चुनौती दिएका हुन् ।
एकीकृत समाजवादीको शक्तिबारे भ्रम नपाल्न उनले चेतावनी दिएका छन् । ‘आफ्नो शक्तिको अति मूल्याङ्कन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस् । हामीलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुईँमा पछार्न निर्णायक भूमिका खेलेका छौँ । ख्याल गर्नुस्, यो चेतना भया,’ उनले भने ।
अध्यक्ष नेपालले पार्टी गठनपछि एकवर्षको समय पाएको भए आफ्नो वास्तविक शक्ति देखिने तर्क गरे । निर्वाचन चाँडै भए पनि आफूहरू मुख्य शक्ति रहेको उनको दाबी थियो ।